धरान : मकवानपुरबाट कृषि बजारमा ल्याइएको फुल कोपीमा अत्याधिक विषादी पाइएको घटनापछि धरानमा रायोको साग देखी सबै तरकारीमा विषादी परीक्षण कडा गरिएको छ । 
कृषि बजारमा आउने तरकारीको परीक्षण नतिजा आएपछि मात्र खुदरा विक्रीका लागि बजार लैजान पाउने व्यवस्था गरिएकाले हिजोआज बिहानै बजारमा ताजा तरकारी पाइन्न । 
यसबाट बिहानै डोको, साइकलमा घर घर डुलाएर सब्जी बेच्नेहरू र कृषि बजारबाट तरकारी ल्याउने पसलेहरू मर्कामा परेका छन् । उनीहरूका अनुसार परीक्षण रिपोर्ट आउँदा सम्म ७ पनि बज्छ, बिहान खाना पकाउनेहरूका घर सम्म तरकारी पुर्‍याउन पाइन्न ।
तर,विषादी परीक्षणमा कडाईले उपभोक्ता सम्म विषादी मिसिएका तरकारी पुर्‍याउन कार्य भने रोकिएको छ। कोरोना महामारी अघि कृषि बजार बिहान ४ बजे खुल्थ्यो । महामारी पछि ५ बजे खुल्न थालेको हो ।त्यसकारणपनि बजारमा तरकारी आउन ढिला भएको हो ।
कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने ‘यहाँको प्रयोगशालामा २४ सै घण्टा खल्ला छ, दैनिक बिहान ५ बजे परीक्षणको रिपोर्ट आएपछि मात्र तरकारी विक्री वितरणका लागि पठाइने गरिएको छ ।’ 
यसअघि कृषि बजार आउने तरकारीको विषादी परीक्षण गरिए पनि नतिजा नपर्खी खुदरा बजारमा पठाइन्थ्यो । खुदरा विक्रेताहरू ४ बजे पनि कृषि बजार पुग्थे । मकवानपुरको पालुङबाट ल्याइएको फुलकोपी परीक्षण गरे पनि नतिजा नआई बजार पुगेको थियो । नतिजामा अत्याधिक विषादी पाइएपछि खुदरा बजारबाटै उक्त कोपी सङ्कलन गरी नष्ट गरिएको थियो ।
धरानमा पूर्वी पहाडी, पश्चिम नेपाल, भारतको बंगाल, धुपी गढी सम्मका हरियो सब्जी फलफूल थोक व्यापारीले कृषि उपज बजारमा ल्याउँछन् । ल्याइएका तरकारी, फलफूलहरू विषादी परीक्षणको नतिजा आएपछि मात्र खुदरा बजार पठाउने नयाँ व्यवस्था गरिएको व्यवस्थापक भट्टराईले बताए । 
कृषि बजार स्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा अहिले सम्म २ हजार ७० वटा नमुनाको परीक्षण भैसकेको छ । उनले भने ‘रिपोर्ट आइसकेपछि उपभोग योग्य गर्न मिल्ने सब्जी, फलफूल मात्र बजार पठाइने व्यवस्था गरिएको हो ।’
प्रयोगशालाको धरान इकाईका नायब प्राविधिक सहायक रुपेश रिजालका अनुसार तरकारीमा कार्वामेन्ट र अर्गानोफस्पेट समूह विषादीहरूको परीक्षण गरिन्छ । ३५ प्रतिशत माथि ४५ प्रतिशत सम्म उक्त विषादी पाइएमा केही दिन क्वारेन्टईनमा राखेर बजार पठाउने गरिन्छ । उनले भने ‘४५ प्रतिशत भन्दा बढी विषादी पाइएमा नष्ट गर्ने नियम छ ।’
व्यवस्थापक भट्टराईले भने ‘ल्याब टेस्ट नगरी उपभोग्य वस्तु बेचेको पाइएमा नियन्त्रणमा लिइने गरिएको छ ।’ कृषि बजारमा यसपालि सिजनमा धनकुटा, मकवानपुरको पालुङ्ग र काभ्रेको नालाबाट सब्जी गरेको उनले बताए । 
उनका अनुसार पूर्वी पहाडी जिल्लाबाट आएका हरियो तरकारीमा हाल सम्म समस्या देखिएको छैन । भट्टराई ले भने ‘तर अब बर्खा लागेपछि पहाडबाट आउने तरकारीमा पनि विषादी देखिन सक्छ ।’ 
बाटोको समस्या र पानी दिनहुँ पर्ने, खाद्यान्न र मल बिउ समयमा नपाएका कारण हरियो सब्जीको आपूर्ति कमी हुँदा किसानहरूले सब्जीको मूल्य धेरै पाउने लोभले विषादी अधिक प्रयोग गर्ने गर्छन् । पैसाको लोभमा तरकारी हुर्कने अवधि नपुगी कृषकहरूले बजार ल्याउने गरेको उनको भनाई छ ।
उपभोक्ताको स्वास्थ्यमा हानी पुग्ने कार्य रोक्न, विषादीयुक्त सब्जी बजार नपुगोस् भनेर कृषि बजारले  थप प्रभावकारी नीति बनाउँदै सबै नाका र धरानबाट बाहिर निर्यात हुने सब्जी समेत ल्याब टेष्ट गराउन थालिएको उनले बताए ।