धरान : पत्रकारिताको माध्यमबाट लिम्बु सामाजिक,भाषिक, सांस्कृतिक,ऐतिहासिक पक्षमा योगदान पुर्‍याउने सञ्चारकर्मीलाई प्रदान गरिने पुरस्कार कोष स्थापना गर्न सुरु गरिएको १ सुका अभियानले साउन ७ गते सम्ममा २ लाख ५ हजार ६३८ रुपैयाँ ५५ पैसा सङ्कलन गरेको छ ।
अभियानमा सहयोग गर्ने दाताहरू तथा सङ्कलित रकम प्रत्येक १५ दिनमा सार्वजनिक गर्ने निर्णय अनुसार साउन ७ गते बुधवार कुल सङ्कलित रकम सहित दाताका नामहरू लिम्बु पत्रकार सङ्घ सुनसरीको फेसबुक पेजमा प्रकाशित गरिएको अध्यक्ष स्वर्णिमहाङ लिम्बुले बताए ।
पुरस्कार कोषका लागि सङ्घले अभियान सञ्चालन गरेको हो । कुल १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ सुरु गरिएको ‘एक सुका अभियान’ ५ लाख सम्म पुगेपछि कोषको व्याजबाट प्रत्येक वर्ष पुरस्कार प्रदान गरिने छ ।
पुरस्कार योगदानको आधारमा १ जना गैह्र लिम्बु सञ्चारकर्मी, १ जना पुरुष र १ महिला लिम्बु सञ्चारकर्मीलाई प्रदान गरिने अध्यक्ष लिम्बुले बताए । सङ्घले ५ हजार रुपैयाँ भन्दा माथि योगदान गर्नेहरूलाई कदर पत्र प्रदान गर्दै आएको छ ।