इटहरी : नेपाली काँग्रेस सुनसरीले विश्वेश्वर प्रसाद कोइराला (बिपी कोइराला) को बारेमा बालबालिकालाई जानकारी गराउने उद्देश्यले हाजिरीजवाफ कार्यक्रम सम्पन्न गरेको छ ।
४३औँ बिपी स्मृति दिवसको अवसरमा प्रजातन्त्र र बिपीको विषयमा बालबालिका र युवा पुस्तालाई सचेत गराउन पालिका स्तरमा कार्यक्रम गरिएको हो ।
सुनसरीका १२ वटै पालिकामा विद्यार्थीलाई बिपी कोइरालाको योगदान र प्रजातन्त्रको विषयमा जानकारी गराउन एकै पटक कार्यक्रम गरिएको जिल्ला सभापति केदार भण्डारीले बताएका छन् ।
सुनसरीका १२ मध्ये १० वटा पालिका समितिले हाजिरीजवाफ कार्यक्रम आयोजना गरेको र देवानगञ्ज र धरानले भने वक्तृत्वकला सम्पन्न गरेको उनले बताए ।
काँग्रेससँग बिपीको बिचार र योगदान जोडिएको बताउँदै उनले प्रजातन्त्रको लागि गरिएको सङ्घर्षको इतिहास नयाँ पुस्तालाई सिकाउन खोजिएको भण्डारीको भनाइ छ ।
सुनसरीको इटहरीमा सम्पन्न हाजिरीजवाफमा राष्ट्रिय मावि आँपगाछी प्रथम भएको छ । विश्व आदर्श दोस्रो र एडु टेक कलेज इटहरी तेस्रो भएको हो ।
१९ विद्यालय सहभागी प्रतियोगितामा प्रथम भएको राष्ट्रिय माविले १० हजार, दोस्रो विश्व आदर्शले ७ हजार र तेस्रो एडु टेकले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
Q&A-progam-2