धरानः फुटबले खेलमा विश्वलाई पछ्याउने हो भने समयसँगै आएको परिवर्तनलाई आत्म सात गरेर अघि बढ्नु पर्ने कुरा कोशी प्रदेश सरकारका कृषि, उद्योग, सहकारी मन्त्री खगेन्द्रसिंह हाङगामले बताएका छन् ।
ताप्लेजुङको प्रगतिशील फुटबल क्लबका संस्थापक र अध्यक्ष रहेका मन्त्री हाङगामले कोशी प्रदेश फुटबल संघव्दारा आयोजित एसियाली फुटबल काउन्सिल लाइसेन्स ‘डी’ तहको सामुदायिक फुटबल प्रशिक्षक प्रशिक्षण उद्घाटन समारोहमा भने ‘फुटबल अब हिजोको जस्तो सजिलो खेल छैन ।’
एन्फा एकेडेमीमा आज सोमवार आयोजित कार्यक्रममा उनले प्रशिक्षार्थीहरूलाई झन् फुटबलको प्रशिक्षक भएर नयाँ पुस्ता तयार गर्न चुनौतीपूर्ण भएको बताए ।
मन्त्री हाङगामले भने ‘हिजोको जमानामा मोजाको फुटबल खाली खुट्टा खेलिन्थ्यो, अहिले जुत्ताहरू मात्र होइन नयाँ पुस्तको पुस्ताको पहुँच नयाँ नयाँ बलहरूमा पुगेको छ ।’ हिजो जुन किसिमले फुटबल खेलिन्थ्यो हारजित सामान्य लाग्थ्यो अब त्यस्तो रहेन अहिले क्षमता, योग्यताको विषय बनेको उनले बताए ।
उनले खेलाडीबाट प्रशिक्षक बन्नु भनेको जीवनको एउटा ‘टर्निङ पाइन्ट’ भएको बताए । संसारमा प्रविधिले ल्याएको परिवर्तनसँगै शिक्षा देखी खेलका नियम, कला सबैमा परिवर्तन आएको बताउँदै भने ‘शिक्षकलाई विद्यार्थीले प्रश्न गर्दा भोली पढेर भन्छु भन्न मिल्दैन, सबै कुरा पहिले आफूले पढेर सिकाउनु पर्छ ।’
कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले ‘हाम्रो लक्ष्य दश वर्ष भित्र विश्वकप फुटबलको प्रतिस्पर्धामा सम्मानजनक स्थानमा पुग्ने हो ।’ त्यो लक्ष्यमा नेपाल फुटबललाई व्यवसायीकरण गर्न सके मात्र पुग्न सकिन्छ । फुटबलका सबै पक्षहरूलाई व्यवसायीकरण गरी खेलाडी, प्रशिक्षक, रेफ्रि देखी सबै प्राविधिकहरू फुटबलबाटै आत्मनिर्भर बन्ने अवस्थामा पुर्‍याउन एन्फा लागेको बताए ।
एन्फा केन्द्रीय सदस्य दीपेन्द्र धिमालले फुटबल प्रशिक्षक प्रशिक्षणमा उत्तीर्ण हुन त्यति सहज नभएको बताए । आफूले ‘सी’ क्लासको लाइसेन्सको परिक्षा भाषाको कमजोरीका कारण उत्तीर्ण गर्न नसकेको स्मरण गराउँदै भने ‘तपाईँहरूको सौभाग्य हिले नेपाली भाषामा प्रशिक्षण पाइरहनु भएको छ ।’ पहिले कोर्स अङ्ग्रेजीमा मात्र थियो र विदेशी प्रशिक्षकले अङ्ग्रेजी भाषामा प्रशिक्षण दिने गरेको बताए ।
कार्यक्रममा एएफसीका प्रतिनिधि दीपक राई, एन्फा टेक्निकल डाइरेक्टर पूर्व कप्तान हरि खड्का, शिव लामिछानेले प्रशिक्षार्थीहरूलाई आत्मविश्वास साथ तालिममा केन्द्रित भएर तालिम अवधिको सदुपयोग गर्न सुझाव दिए ।
एन्फा टेक्निकल सेन्टरमा ४ दिन सम्म चल्ने आवासीय प्रशिक्षणमा कोशी प्रदेशका जिल्लाहरूबाट आएका ६० जना प्रशिक्षार्थी सहभागी छन् । ‘डी’ क्लासको प्रशिक्षणबाट उत्तीर्ण प्रशिक्षकहरू एफसी मान्यता प्राप्त भई यु–१७ का नयाँ फुटबल खेलाडीलाई प्रशिक्षण दिन योग्य मानिने छन् ।