धरानः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरूले आधुनिक नर्सिङका संस्थापिका फ्लोरेन्स नाइटिङगेलको जन्मदिन मे १२ आज सोमवार २०५औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाएका छन् । 
कोशी प्रदेश मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सिर्जना राईको प्रमुख आतिथ्यमा नसिंङ दिवस मनाइएको हो । उनले नर्सिङ पेशा, जागिर मात्र नभएर मानवीय सेवाको अपरिहार्य क्षेत्र भएको बताइन् ।
बिपीकी मेट्रोन तथा नर्सिङ सङ्घ अध्यक्ष कला थापाले नर्सिङमा लगानी गरी नर्सहरूको हकहितप्रति ध्यानाकर्षण गराउँदै विश्व स्वास्थ्य सेवा सुनिश्चित गर्न नर्सिङ दिवस मनाउन थालिएको बताइन् । 
उनका अनुसार नेपाल नर्सिङ परिषद्को तथ्याङ्कमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका गरी ४५ हजार भन्दा धेरै नर्स छन् । 
कार्यक्रममा प्रतिष्ठानका रजिष्ट्रार प्रा डा  सूर्य प्रसाद सङ्ग्रौला, धरान–३ का वडाध्यक्ष विद्या शाक्य लगायतको उपस्थिति थियो । 
आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङगेलको जन्मदिनलाई अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा नर्सिङ दिवस मनाउने गरिन्छ ।