धरान : पूर्व उपप्रधानमन्त्री, जनता समाजवादी नेपाल पार्टी अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेश नामकरणलाई अब बन्ने राज्य पुनर्संरचना आयोगले पुनःनामाकरण र सिमाङ्कन गर्ने बताएका छन् ।
अध्यक्ष यादवले भने ‘राज्य पुनः संरचना आयोग बन्दैछ ।’ अव्यवहारिक र अवैज्ञानिक नामकरण र सिमाङ्कनलाई पुनः संरचना आयोगले संरचनाको आधारमा नामकरण र सिमाङ्कन गर्ने उनले बताए ।
पार्टीद्वारा आज शनिवार आयोजित कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठीमा उनले भने ‘प्रदेश नामकरण मात्र होइन ७ वटै प्रदेशको सिमाङ्कन पनि गलत छ ।’
पहिचानलाई स्थापित गर्दै अगाडी बढ्नु नै यात्रा हो । यात्रा अघि बढ्छ, हिजो भन्दा आज यात्रा अगाडी बढेको छ, जसपाको नेतृत्वमा आन्दोलन अगाडी बढ्ने उनले बताए । मधेस प्रदेश नामकरण गर्दाको स्मरण गराउँदै भने 'मधेस प्रदेशमा जसपाको बहुमत भएका कारण मधेस प्रदेश नामकरण भएको हो ।'
काँग्रेस कम्युनिस्टले सङ्घीयतालाई आत्मासाथ गर्दैनन् । उनीहरूले नै आज सङ्घीयता र पहिचान विनाको नामकरण गरेको उनले आरोप लगाए ।अध्यक्ष यादवले कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने गरी पुन: नामकरण यात्रा अगाडी बढ्ने बताए ।
उनले भने ‘प्रदेश नाम कुनै खोला, नाला कुल कुलेसोको आधारमा नामकरण गर्नु हुँदैन, त्यसैले कोशी नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई सम्बोधन हुने गरी पुन नामकरण यात्रा अगाडी बढ्छ ।’जनताको आवाज सामान्य र कमजोर छ भनेर उपेक्षा गरे भोली तेहि आवाजले विस्फोट हुने उनको भनाई थियो ।
यादवले भने ‘जनताको आवाजलाई बेवास्ता गरे विद्रोहले क्रान्तिको रूप लिन सक्छ ।’ विना पहिचानको मानव सभ्यता र समुदाय हुँदैन । राज्य अर्थात् काँग्रेस एमाले लगायतका कम्युनिस्ट पार्टीहरूले पहिचान मेटाउने प्रयास गरे । राष्ट्र भित्र रहेका जनताको पहिचान धार्मिक, भाषिक,सांस्कृतिक सबै मिलेर बनेको प्रदेश नामकरणले कुनै पनि भाषा धर्म सङ्घीयता नष्ट हुनुहुँदैन ।कोशी नाम र केबलकार खारेज तथा पहिचान कार्यदिशा विषयक विचार गोष्ठीका अर्का व्यक्ता खगेन्द्र सङ्ग्रौलाले प्रदेश पुन: नामकरण गर्न बहुमत हुनुपर्ने बताए । उनले कोशी नामकरण खारेजी गर्न कि ठुलो मानव सागरको आन्दोलन भए मात्र कोशी नामकरण खारेज हुने नत्र २०८४ मा पार्टीले बहुमत ल्याए मात्र सम्भव हुने बताए ।
उनले बहुजातीय देशहरूमा राजनीतिक, आर्थिक स्वतन्त्रताले मात्र समूहगत विभेद अन्त्य हुन नसक्ने भन्दै सामाजिक, सांस्कृतिक स्वतन्त्रता पनि मानवीय मुक्तिका लागि आवश्यक छ भन्ने चिन्तन नै पहिचानको राजनीतिको चिन्तन रहेको बताए ।
पार्टीका सह-अध्यक्ष रकम चेम्जोङले संयोजकत्वमा र ‘१ नं प्रदेश पुनः नामाङ्कन आन्दोलन परिचालन तथा समन्वय समिति’ को आयोजनामा धरानमा शनिबार भएको गोष्ठी पूर्व शान्ति पथबाट र्याली शुरु भएको थियो ।
र्यालीमा कोशी प्रदेश खारेज गर, पुनः नामकरण गर, एकल जातीय नामकरण मान्दैनौँ, केबलकार खारेज गर, पहिचान वादी एक हौँ जस्ता नारा लगाउँदै सदन स्कुल परिसरमा गएर विचार गोष्ठीमा समावेश भएका थिए । गोष्ठीमा वक्ताहरू मा पहिचानवादी नेता, लेखक तथा अभियन्ताहरू रहेका थिए । कार्यक्रम सञ्चालन जसपा नेपालका धरान अध्यक्ष ताजुब लिम्बुले गरेका थिए ।