इटहरी : सुनसरीको दुहबीमा पिकअप गाडी दुर्घटना हुँदा प्रहरी अतिरिक्त सहायक निरीक्षक (असई) बिरोध खतिवडाको मृत्यु भएको छ । गाडीमा सवार तीन जना मध्ये दुई जना घाइते भएका छन् भने खतिवडाको उपचारको क्रममा मृत्यु भएको हो ।
कोशी राजमार्ग अन्तर्गत फुटानी चौकमा विराटनगर तिर गएको प्र २-०१-००१ च ०२५१ नम्बर गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी इन्स्पेक्टर सागर तिमिल्सिनाले बताएका छन् ।
मृत्यु भएका खतिवडा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत छन् । टाउको, छाती र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर भएका खतिवडाको विराट टिचिङ अस्पताल बूढीगंगामा मृत्यु भएको हो ।
चालक उदयपुर चौदण्डीगढी नगरपालिका-६ बस्ने सुरेश कार्कीको टाउको र छातीमा चोट लागेको छ । चालककी छोरी वर्ष १४ की रोजिना कार्की सामान्य घाइते भएकी छिन् ।