धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको ५ वर्षे कार्यकाल चैत २६ गते सकिँदै छ । उनी २०७६ चैत २७ गते ५ वर्षका लागि नियुक्त भएका थिए ।

वीपी प्रतिष्ठानमा पछिल्लो समय उपकुलपतिका कार्यकाल विवादास्पद रहँदै आएका छन । डा.गिरीको कार्यकाल पनि त्यो भन्दा भिन्न रहेन । आफ्नो नामको अगाडि ‘प्राध्यापक’ लेखर नपाएको पगरी पाएको अभियोगमा मुद्दा समेत चलेपछि हटाउन उनी बाध्य समेत भए ।

पछिल्लो समय वीपीमा विकासका नाममा हुने निर्माण कार्यमा उनको एकल मनोमानी र कार्यकारीहरू बिचै विवादास्पद रहेको देखियो । क्यान्सर, आगोले पोलेको उपचारका नयाँ भवन उद्घाटनको बेला रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौला अनुपस्थित रहेर सार्वजनिक रूपमा मनोमानीको खुलासा गरेका थिए ।

वीपीमा बढेको अव्यवस्थालाई उनले सुधार गर्न सकेनन् । उनी पदबाट १३ महिनासम्म त निलम्बनमै परे । उनी व्यवहार कुशल नरहेको तथा उपकुलपतिमा हुनुपर्ने गुण उनमा नभएको गुनासो उनको सम्पर्कमा रहनेहरूले गरेका छन् ।

उनको कार्यकालमा वीपीमा उपचार सेवा नै ठप्प हुने गरी चिकित्सक कर्मचारीको आन्दोलन समेत भयो । तथापि समस्या उत्पन्न भएपछि त्यसको समाधान पनि कुनै न कुनै रूपमा हुन्छ । वीपी प्रतिष्ठान जस्तो नेपालकै ठुलो चिकित्सा शास्त्र अध्ययनको प्रतिष्ठानप्रति स्थानीय नागरिक समाज, राजनीतिक दलहरूको सहयोगी भूमिका महत्त्वपूर्ण रह्यो ।

त्यही सकारात्मक भूमिकाको पृष्ठभूमिमा डा. गिरीकै कार्यकालमा केही कार्यहरू भएका देखिन्छन् । उनको कार्यकाल समाप्तिको पूर्वसन्ध्या प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानले विज्ञप्ति जारी गर्दै उपकुलपति गिरीको कार्यकालमा भएका कामहरूको उल्लेख गरेकी छन् ।

विकट अवस्थामा पनि लामो समय देखि ठप्प भएको शिक्षक कर्मचारीहरूको आन्तरिक बढुवा प्रक्रियालाई अगाडी बढाई सम्पन्न गरेको कुरा महत्त्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।

विगत ८ वर्ष देखि हुन नसकेको १३ औँ दीक्षान्त समारोह, आइसियू बेडको सङ्ख्या ३२ मा ४२ बेड थपेर ७४ बेड बनाएको, डायलाइसिसका लागि थप २० बेड पनि डा. गिरीको कार्यकालमा सञ्चालन भएको उल्लेख छ ।

इमर्जेन्सी सेवामा थप ४० वटा जेनेरल बेड ८ वटा आइसियू/एचडियू बेड सुरु गरिएको, पुराना थन्किएका मेशिन उपकरणहरूको मर्मत सम्भार र नयाँ उपकरणहरू खरिद गरिएको उल्लेख छ ।

उपत्यका बाहिर पहिलो अत्याधुनिक प्रविधिको २५६ स्लाइसको सिटी स्क्यान मेसिन पनि खरिद गरी जडान गरिएको बताइएको छ ।

प्रतिष्ठानले औषधी बिक्री वितरणका लागि छुट्टै भवनमा फार्मेसी सेवा सुरु गरिएको, क्यान्सर उपचार सम्बन्धी सेवा र जलेर आउने बिरामीहरूको उपचार सेवा हाल आंशिक रूपमा सञ्चालन भएको उल्लेख छ ।

डा. गिरीको उत्तराधिकारीको रूपमा सरकारले अब वीपी प्रतिष्ठानको नेतृत्व कस्तालाई सुम्पिन्छ भन्ने चासो सर्वत्र बढेको छ । अहिले सम्म वीपीका उपकुलपतिको नियुक्ति सत्तामा रहेका पार्टीहरूको भागभण्डामा हुने गरेको छ । पछिल्लो समय उपकुलपतिको नियुक्तिमा पैसाको चलखेल निर्णायक हुने गरेको पनि सुनिँदै आएको छ । त्यस्तै भए वीपी प्रतिष्ठान पुनः पुरानै अवस्थामा रहने छ ।