धरान : अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङले गणेश थापाले २२ वर्ष एन्फामा बस्दा गरेको भ्रष्टाचार छानबिन हुन बाँकी नै रहेको बताएका छन् ।
उनले भने ‘फिफाले उनलाई गरेको १० वर्षे प्रतिबन्ध भ्रष्टाचार गरेकोमा सजाय हो सफाई होइन ।’ सजाय पाएका व्यक्तिले सफाई पाएको जस्तो प्रचारबाजी गर्नु विल्कुलै गलत भएको उनले बताए ।
कोशी प्रदेश फुटल सङ्घको बैठकमा अतिथिका रूपमा आएका एन्फा अध्यक्ष नेम्वाङले आज सोमवार धरान एन्फा एकेडेमीमा पत्रकारहरूलाई विश्व फुटबल महासङ्घ फिफाले कारबाही गरेर सजाय दिएको १० वर्षे प्रतिबन्ध सकिँदैमा थापा निर्दोष साबित नहुने उनको भनाई छ ।
थापाले भ्रष्टाचारको दोष स्वीकार गरी फुटबलमा कहिल्यै फर्कन नपाउने गरी सजाय भोग्न तयार भएर १० वर्षे प्रतिबन्धमा बबेको अध्यक्ष नेम्वाङको भनाई छ । उनले भने ‘उनले आफूलाई निर्दोष साबित गर्न ‘कास’मा पुनरावेदन गरेनन् ।’
खेलकुदमा हुने विवाद, भ्रष्टाचार, अपराधको अन्तिम सुनवाई गर्ने न्यायिक निकाय स्विजरल्याण्डमा रहेको छ । थापाले फिफाले गरेको कारबाहीको विरुद्धमा त्यहाँ स्थित कोर्ट अफ अर्विटरी अफ स्पोर्टस् (कास)मा पुनरावेदन गर्न पाउँथे ।
तर उनले कासमा पुनरावेदन गरेनन् र सफाई पनि पाएका छैनन् । फिफाले कारबाही गरेका सेफ ब्लाटर र मिसेल प्लटिङले भने कोर्ट अफ अर्विटरी अफ स्पोर्टसमा पुनरावेदन गरेको अध्यक्ष नेम्वाङले प्रस्ट पार्दै भने ‘थापाले सजाय भोगेका हुन र सजाय भोगी सके पछि कुनै पनि व्यक्तिलाई निर्दोष भनिँदैन ।’ अध्यक्ष नेम्वाङका अनुसार थापाले एन्फामा २२ वर्ष रहँदा गरेको भ्रष्टाचारको बारेमा फिफा, एएफसी सहित नेपालको उच्च निकायहरूमा एन्फाले गरेको उजुरीको सुनवाई हुन बाँकी रहेको छ ।
एन्फा वरिष्ठ उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयहरू सम्बन्धित निकायहरूमा पुगेको उनले बताए । थापा अब फुटबलको गतिविधिमा आउन नपाउने बताउँदै एन्फा अध्यक्ष नेम्वाङले भने ‘तर उनी आफै अब फुटबलमा नफर्किने बताउँदै हिँडेका छन्, कसैले उसलाई बोलाएको जस्तो ।’ उनको यस्तो कुराले नेपाली फुटबलमा घटिया राजनीतिको दुर्गन्ध फैलाउने काम गरेको उनको भनाई छ । अध्यक्ष नेम्वाङले गणेश थापाले रसातलमा पुर्याएको नेपाली फुटबल उनिबाट मुक्त भएपछि माथि उक्लिएको दाबी गरे ।
फुटबलको विश्व वर्गीकरणको सूचिमा १९५ औँ स्थानमा रहेको नेपाल १७५ औँ स्थानमा उक्लिएको उनले बताए । उनले आफ्नो कार्यकालमा एन्फाको प्रादेशिक संरचनाहरू निर्माण गरेर नेपाली फुटबलमा ऐतिहासिक फड्को मारेको बताए । भने ‘भौतिक पूर्वाधार, सरकारी बजेटको अभावमा सोचे जति काम गर्न सकिएको छैन ।’ जिल्ला जिल्लामा फुटबलको नयाँ लहर आएको बताए । प्रत्येक जिल्ला फुटबल सङ्घको एन्फाको सिधा पहुँच बनेको छ ।
खेल सामाग्री देखी फुटबल प्रतियोगीताहरुका बारेमा सिधा छलफल हुने गरेको बताउँदै भने ‘प्रतियोगिता र खेल सामाग्रीको माग बढेको देख्दा मलाई विश्वमा सबै भन्दा बढी फुटबल प्रतियोगिता नेपालमै हुन्छ जस्तो लाग्ने गर्छ ।’
एन्फा अहिले काठमाण्डौमा अन्तर्राष्ट्रिय स्तरको नयाँ रङ्गशाला निर्माण गर्ने पहलमा लागेको उनले बताए । ४० हजार दर्शक क्षमताको रङ्गशाला निर्माणको प्रक्रिया अघि बढाउन सरकारसङ पहल भइरहेको उनले बताए । खेलकुदमा आकर्षण थप्ने कार्य सुविधा सम्पन्न भौतिक पूर्वाधारले गर्ने उनको भनाई छ ।
कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईको सभापतित्वमा चलिरहेको बैठकले प्रदेशको फुटबलका बारेमा महत्त्वपूर्ण निर्णयहरू गर्ने अध्यक्ष राईले बताएका छन् ।
बदलिएको विश्व फुटबलको दुनियासंग प्रतिस्पर्धामा नेपाली फुटबललाई उतार्ने तयारीमा एन्फालाई अघि बढाउन प्रदेश फुटबल सङ्घहरूको महत्त्वपूर्ण भूमिका रहने उनको भनाई छ ।