धरान : आज सोमवार नयाँ वर्षको सार्वजनिक बिदाको दिन धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको आदेशमा नगर प्रहरीले खानेपानी उपभोक्ताको धारा काटिदिएको छ ।

साम्पाङ अभियन्ता हुँदादेखि नगर प्रमुख हुँदासम्मका साथी आफ्नै समर्थक धरान-१५ का इन्द्रबहादुर तामाङको खानेपानीको धारा प्रमुख साम्पाङले बन्द गर्न लगाएका हुन् ।

नगर प्रहरीले आज बिदाको दिन वैशाख १ गते बिहान ७ बजे आएर विना पूर्व सूचना धारा काटिदिएको तामाङले बताए ।

उनले भने ‘म घरमा थिइन, ७ बजे बिहानै नगर प्रहरी प्रवेश गरि एक्कासि धारा काट्न आएको भनेपछि परिवारले आत्तिँदै फोन गरे, नगर प्रहरीहरूलाई म आउँदै छु आएपछि धारा काट्नु भनेँ तर मेरो कुरा सुनेनन् ।’

इन्द्रबहादुर तामाङ र धरान-१ का बिहानसिंह श्रेष्ठ गत शुक्रवार प्रमुख साम्पाङको कार्यकक्षमा उनी अभियन्ता हुँदा उनले गरेको ‘आव्हान’ अनुसार खानेपानीको महसुल नबुझाई बस्दा अहिले धारा काटिन लागेको गुनासो गर्न पुगेका थिए ।

साम्पाङले गरेको आव्हान अनुसार महसुल नतिर्दा उनकै समर्थक अशोक बज्राचार्यले पसलको नामको धाराको बिल १ लाख ५० हजार तिर्नु पर्याे । तर अरू ४ जनाले नतिरेपछि बिल बढ्दै गयो आर्थिक पहुँचले नपुग्ने भनी उनीहरूले गुनासो गरेका थिए ।

साम्पाङ नगर प्रमुख भएपछि ज्ञापन पत्र बुझाउँदै मिनाहा गर्न सम्झाउँदा उनले ‘हुन्छ म गर्छु’ भनेको स्मरण गराएका थिए । तामाङको ४३ हजार बिल आएको, बिहानसिंहको ३९ हजार बिल तिर्ने पहुँच भन्दा बढी भएको बताएका थिए ।

गुनासोकाबिच भनाभन भएपछि मेयर साम्पाङले उनीहरूलाई नगर प्रहरी लगाई गलहत्त्याएर कार्यकक्षबाट निकालेका थिए । पछि प्रमुख साम्पाङले युट्युबवर मार्फत उनीहरू ठेक्कापट्टा माग्न आएको भन्दै बदनाम गर्न खोजेको आरोप लगाएका थिए ।

प्रमुख साम्पाङको आरोपको जवाफमा तामाङले ‘मेयरले जुन आरोप लगाएका छन् त्यो पुष्टि गर्नुपर्छ, मैले कहिले कहाँ कुन समयमा ठेक्का माग्न आएँ ?’ भनेका थिए । उक्त भनाई प्रशासित भए लगत्तै उनको घरको धारा काटिएको हो ।