धरान : चिकित्सा विज्ञानले मानिसलाई मृत्युबाट बचाउन अति संवेदनशील अङ्गहरू प्रत्यारोपण गर्ने आविष्कार गरे पनि त्यसको लागि चाहिने अपरिहार्य तत्त्व रगतको विकल्प बनाउन नसकेको कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतले बताएका छन् ।
खस समाज प्रतिष्ठान धरान नगर समितिको रक्तदान कार्यक्रममा प्रमुख अतिथि सांसद बस्नेतले भने ‘त्यसैले रगतमा जाति, धर्म, सम्प्रदायको भेदभाव सम्भव छैन ।’ रगतको समानताले मानवीय समवेदना, सद्भावप्रति मानिसलाई अभिप्रेरित गर्दै आएको उनले बताए ।
विशेष अतिथि रेडक्रस सोसाइटीका सभापति उमेश थापाले रक्तदान कार्यक्रममा सामाजिक संस्थाहरूले देखाएको सक्रियता सुनसरीमा उदाहरणीय रहेको बताए । बदलिँदो प्रविधिले रक्तदानबाट सङ्कलित रगत मानिसको जीवन बचाउने बहु उपयोगी प्रयोग हुने भएकोले रक्तदानको महत्त्व अझ बढेको उल्लेख गरे ।
रेडक्रस सोसाइटी सुनसरीको सहकार्यमा भानुचौकमा शनिवार बिहान भएको खुल्ला बृहत् रक्तदानबाट कुल ७७ पिन्ट रगत सङ्कलन भएको छ । उक्त अवसरमा रक्तदाताहरूलाई सांसद बस्नेत, रेडक्रस सुनसरीका सभापति उमेश थापाले प्रमाणपत्र प्रदान गरे ।
रक्तदान बिच हातेमालो महिला उद्यमी समूहले रक्तदान सम्बन्धी जनचेतनामूलक लघु नाटक प्रस्तुत समेत गरेको थियो ।
सोही अवसरमा खस समाज धरान नगर समितिको पदस्थापन गरिएको थियो । समाजको गत फागुन ३ भएको पहिलो धरान नगर अधिवेशनले अध्यक्ष विजय घिमिरेको अध्यक्षतामा २९ सदस्यीय धरान उपमहानगर समिति सर्वसम्मत निर्वाचित गरेको थियो ।
अध्यक्ष घिमिरेको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा खस समाज नेपालका केन्द्रीय सचिव हिमाल कार्की, कोषाध्यक्ष ज्ञानु बस्नेत लगायत पदाधिकारी, सदस्य साथै अग्रज खस अभियन्ताहरूको उपस्थिति थियो ।
रक्तदान समाजका नगर उपाध्यक्ष खगेन्द्र कुँवरको संयोजनमा सम्पन्न भएको हो । सञ्चालन समाजका सचिव ज्ञानेन्द्र बस्नेतले गरेका थिए । रेडक्रसका उप-कोषाध्यक्ष श्याम पोखरेल लगायतले मन्तव्य राखेका थिए ।