धरान : नगर प्रमुख हर्क साम्पाङले चैत १९ गते धरान-२० बिष्णुपादुका जङ्गलमा फायर लेन बनाउने भन्दै सामुदायिक वनको रुख काटेको बारेमा डिभिजन बन कार्यालयले छानबिनको प्रक्रिया अघि बढाएको छ ।
विना इजाजत रुख काटेको विषयमा छानबिन गर्न डिभिजन वन कार्यालय सुनसरीले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । नगर प्रमुख साम्पाङले आफै मेसिन प्रयोग गरी रुख कटान गरेको बारेमा छानबिन गर्ने भएको हो ।
छानबिन समितिमा बिष्णुपादुका सव डिभिजन वन अधिकृत महेश कुमार शाह संयोजक छन् । सदस्यहरूमा पञ्चकन्या सव डिभिजन वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फुलकुमारी भोटे रहेको जिल्ला वन डिभिजन कार्यालय सुनसरीका प्रमुख खुद्रोस मियाँले बताए ।
उनले भने ‘छानबिन समितिले स्थलगत जाँचबुझ गरी तयार गरेको प्रतिवेदन अनुसार सजायको व्यवस्था हुनेछ ।’ छानबिन समितिको प्रतिवेदनको आधारमा वन ऐन अनुसार सजाय हुने उनको भनाई छ ।
प्रमुख मियाँले भने ‘वन क्षेत्र भित्र विना इजाजत रुख काट्ने छुट कसैलाई छैन, रुख काट्ने जो कोही सजायको भागीदार हुन्छ ।’
उक्त बनका उपभोक्ताहरूले प्रमुख साम्पाङ फायर लेन बनाउँदै भन्दै सामुदायिक वनका रुख काटेको बताएका छन् । उनीहरूको भनाई छ ‘अरूले यति गरेको भए पाता कसेर लगिसक्थे मेयरलाई कसले छुने कोही छ र ?’