विराटनगर : नयाँ वर्ष २०८२ को पहिलो दिन आज सोमवार प्रदेशवासीमा शुभकामना सन्देश दिँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ वर्षको लक्ष्य सङ्घीय संरचनाहरूलाई सबलीकरण रहने बताएका छन् ।

सन्देशमा उनले भनेका छन् ‘सङ्घीय संरचनाहरूलाई सबलीकरण गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पुरा गर्न सङ्घीयतालाई बलियो बनाउन नयाँ वर्षले हामी सबैलाई प्रेरणा प्रदान गरोस् ।’

मुख्यमन्त्री कार्कीले विगतका कामहरूको समीक्षा गर्दै आगामी दिन अझ फलदायी र सुखमय बनाउने प्रतिबद्धता व्यक्त गर्दै शुभकामना सन्देशमा प्रदेशवासी तथा स्वदेश तथा विदेशमा रहेका आम नागरिकको सुख शान्ति र समृद्धिको कामना प्रकट गरेका छन् ।

प्रदेशका जनतालाई नयाँ उत्साह थप्नका लागि नयाँ वर्षको सुरुवातदेखि नै पर्यटन वर्ष २०८२ घोषणा गरेर प्रदेशलाई स्वच्छ, सुखी र समुन्नत प्रदेश बनाउने आधारशिलालाई खडा गरिएको सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री कार्कीले नयाँ वर्षमा नै लगानी सम्मेलन गरेर प्रदेशको सुख प्रदेशको विकास समृद्धिमा नयाँ इँटा थप्ने प्रयत्न समेत भइरहेको बताएका छन् ।

सीमित स्रोत साधनले जनताका आकाङ्क्षालाई भनेजस्तो पूरा गर्न नसके पनि सङ्घीयताको यो सात वर्षमा कोशी प्रदेश सरकारले धेरै काम गरेको उल्लेख गर्दै सङ्घ प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यबाट नै  दिगो विकास र समृद्धि हासिल गर्न सकिने विश्वास दोहोर्‍याएका छन् ।

CM shubhakamana