धरान : नेविसंघ महेन्द्र बहुमुखी क्याम्पसमा नवनिर्वाचित स्ववियु कार्यसमितिलाई नयाँ वर्ष २०८२ को अवसरमा आज बुधवार स्वागत तथा सम्मान गरेको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य, नेविसंघका पूर्व अध्यक्ष राजीव ढुङ्गानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महेन्द्र क्याम्पसमा नेविसंघका प्रथम इकाई सभापति मदन ढकाललाई सम्मानित गरियो ।
२०४४ सालमा पहिलो पटक गठन भएको नेविसंघ इकाई सभापतिमा ढकाल २०५१ साल सम्म रहेका थिए । उनलाई नेविसंघ क्याम्पस इकाई सभापति विनोद आले मगरले सम्मानित गरे । सोही अवसरमा इकाई समितिद्वारा प्रकाशित २०८२ सालको क्यालेण्डर विमोचन गरियो ।
समारोहका प्रमुख अतिथि ढुङ्गानाले भने ‘महेन्द्र क्याम्पसको स्ववियुमा नेबिसंघ र अनेरास्वबियुको गठबन्धन प्यानल अत्यधिक मतले विजय भएको कुराले धरानका जनता राजनीतिक दलहरूसँग असन्तुष्ट छन् भन्नु गलत हल्ला भएको साबित गरेको छ ।’
यसबाट स्थानीय चुनाव देखी धराने जनता दल विमुख भई व्यक्तिको पक्षमा गएको कुरा पनि भ्रम स्ववियु निर्वाचन परिणामले तोडेको उनको उनको भनाई थियो ।
ढुङ्गानाले नेपालमा अहिले लोकतन्त्र कमजोर बनाउन सडकमा राज आऊ देश बचाउ भन्दै भन्ने नारा अर्को भ्रम भएको बताउँदै भने ‘राजतन्त्र चल्दै आएको २ सय ४० वर्ष सम्म राजाले कहाँ देश बचाउन सके ?’
दरबार हत्याकाण्ड घटना घटाउनले पूर्व राजाले आन्दोलनको नाममा काठमाडौँको भाटभटेनीबाट बियर, रेड लेबल, ह्विस्की लुट्ने उग्र दुर्गा प्रसाईँहरूबाट यो देश बचाउने कल्पना गर्न नसकिने उनको भनाई थियो ।
नेबिसंघ इकाई सभापति आले मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व प्रदेश प्रमुख गोविन्द सुब्बा, काँग्रेस कोसी प्रदेश सदस्य किशोर राई, सुनसरी सचिव माधव घिसिङ, निवर्तमान मेयर तिलक राई, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ उपस्थित थिए ।
प्रदेश (ख) सभापति मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, नेबिसंघ केन्द्रीय सदस्य सङ्गीता बाहिङ राई, नेबिसंघ सुनसरीका सभापति प्रमोद भट्टराई, तरुण दल केन्द्रीय सदस्य देवेन्द्र लिम्बु लगायत उपस्थित थिए ।