धरान: बाल सञ्जाल धरानले धरान–१६ नौलो बस्तीमा वालिका माथी यौन दुर्व्यवहार भएको घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गर्दै ईलाका प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
धरान–१३ स्थित इलाका प्रशासन कार्यालयमा बुधवार सञ्जालले ध्यानाकषर्णपत्र बुझाउँदै कारवाहीको माग गरेको हो ।
पत्रमा अभियुक्तलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । भनिएको छ ‘हामी वाल सञ्जालका प्रतिनिधिहरूले पनि घटना सार्वजनिक भए लगत्तै बालिका र बालिकाको परिवारलाई प्रत्यक्ष भेटेर जानकारी लिएको कुरा पनि तपाईँलाई जानकारी गराउन चाहन्छौं।’
पत्रमा दुर्व्यवहार गर्ने को हो भन्ने थाह नभए पनि उक्त घटनाको विषयमा जानकार तथा घटनालाई सामसुम पार्ने व्यक्तिहरू मार्फत अभियुक्त सम्म पुग्न सकिने कुरा उल्लेख गर्दै भनिएको छ ‘तर, उक्त व्यक्तिहरूसँग समन्वय किन भइरहेको छैन ?
यो कुराप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ बाल सञ्जालका रोजन शङ्कर, शिवप्रसाद घिमिरे र सागर तामाङ सहित समूहका सदस्यहरू सहित इलाका प्रशासन कार्यालय पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन ।
गत: वैशाख १७ गते धरान–१६ स्थित बहुभाषिक पाठशालामा श्रमदान चलिरहेको बेला एक श्रमदाताले स्थानीय १३ वर्षीय वालिकालाई यौन दुर्व्यवहार गरेको थियो ।
उक्त घटना झन्डै २ महिना पछि सार्वजनिक भएको हो । पीडित पक्षले प्रहरीमा जाहेरी दिए पनि पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ ।
बाल सञ्जालले नेपाल पत्रकार महासङ्घ सुनसरीलाई पनि निवेदन दिदैं घटनासँग सम्बन्धित भिडियो खिचेर पनि प्रसारण नगरेका पत्रकारलाई कारवाहीको माग गरेको छ ।
पत्रकार महासङ्घ कार्यसमिति सदस्य रोहित राई कुलुङलाई उनीहरूले निवेदन दिएको हो । सदस्य राईले निवेदन अध्यक्षलाई बुझाउने र छलफल गरेर निर्णय लिइने बताए ।