इटहरी  : मोरङको सुन्दर हरैचास्थित गोकर्ण रिसोर्ट पछिल्लो समय पर्यटकीय गन्तब्यसँगै सानो पर्दामा देखिने सर्टमुभि तथा म्युजिक भिडियो सुटिङको पनि गन्तव्य बन्दै गएको छ ।  पुर्वका सर्वसाधारणहरुलाई घुमफिरको लागि गोकर्ण रिसोर्ट आकर्षक बन्दै गएको छ । गर्मी याममा स्विमिङको मजा लिन आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । गोकर्ट रिसोर्ट इटहरीबाट करीब ५ सय मिटर पूर्वमा पर्छ । रिसोर्टमा बनाइएका संरचनाहरू बालबालिकादेखि बृद्धहरूलाई पनि आकर्षक र मन लोभ्याउने आकृतिका छन् । अहिले यस स्थानमा साना चलचित्र तथा म्युजिक भिडियोको सुटिङ हप्तै पिच्छे हुने गरेको छ । शुरुवातमा दैनिक २० देखि ५० जना मात्र आन्तरिक पर्यटकहरू आउथे । अचेल भने दैनिक ३ सय देखि १८ सयसम्म आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् । रिसोर्ट भित्रका हरियाली वातावरण, सेमिनार हल, टाढाबाट आएका पर्टकहरूका लागि खानासहितका आवासीय भवनहरूकै कारण पछिल्लो समय पूर्वको मेचि देखि पश्चिममा महाकालीसम्म यस रिसोर्टको चर्चा चुलिएको छ ।


दैनिक झापा हुदै पाँचथर सम्मका पर्यटकहरू यहा नियमित आइरहेका छन् । उनीहरुले रिसोर्टको खुलेरै प्रसंशा पनि गर्छन् । इलाम फिक्कलका ३८ बर्षिय गणेश अधिकारी आफ्नो ४ जनाको सपरिवार घुम्न आएका थिए । उनले आफुले सुनेभन्दा निकै उत्कृष्ट र मनमोहक लागेको प्रतिक्रिया दिए । साथीले फेसबुकमा फोटो हालेको देखेर रिसोर्ट घुम्न आएकी मोरङ उर्लाबारीस्थित एक कलेजकी बिद्यार्थी निकिता चापागाइले असाध्यै राम्रो लागेको बताइन । केटाकेटीको लागि बनेको फन पार्क उत्कृष्ट लागेको उनले बताइन् ।
मुल स्वागत गेटबाट छिर्ना साथ अगाडि देखिने डाइनेसोरको आकृतिले गोकर्ण आउने धेरै जसोको मन लोभ्याउछ । चारैतिर सजिएर बनेको गार्डेन, बच्चाहरूकालागि बनेको सुरक्षित पार्क र युवा युवतीहरूकालागि डेटिङस्थलसँगै स्विमिङ पुल पनि आर्कषक गन्तब्य बनेको छ । पर्यटकहरूको भावना बुझेर गोकर्णलाई थप ब्यवस्थित बनाउन सञ्चालक टिम लागि परेको छ । घुम्न आउने पर्यटकहरूकालागि ब्यवस्थित बनाउने तयारी भइरहेको रिसोर्टका ब्यवस्थापक बिज्ञान रायले बताए । उनका अनुसार थोरै जग्गा खरीद गरेर अब पिकनिक स्पट पनि बनिनेछ । यसले रिसोर्टमा पिकनिकको मजा लिन पनि सकिन्छ । सञ्चालक रायका अनुसार ३ देखि ४ सय जनासम्म अटाउने पिकनिक स्पोट तयार हुन्छ ।