धरान : कोसी प्रदेश सांसद विजय राईले धरानलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सिटी हल सभा गृह निर्माण आवश्यक रहेको बताएका छन्।

भारतको बिहार प्रदेशका पर्यटक भित्र्याउने उद्देश्यसहित धरानमा बिहीबारदेखि सुरु भएको दुई दिने ‘कोशीमा बिहार उत्सव २०८२’ कार्यक्रममा बोल्दै सांसद राईले पर्यटन प्रवर्द्धनसँगै आवश्यक पूर्वाधार विकासमा जोड दिएका हुन्।

राईले धरान-८ स्थित सभागृहको अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्दै धरानमा ठुलो सिटी हलको अभाव रहेको बताए। उनले कम्तीमा एक हजार जना अट्ने व्यवस्थित हल निर्माण गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।

धरान धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थान भएको उल्लेख गर्दै उनले बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली र बराहक्षेत्र जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरूको उचित प्रचारप्रसार गर्नुपर्ने आवश्यकता छ तर ती स्थलहरूको प्रवर्द्धन गर्न स्थानीय सरकार, सुनसरी उद्योग वाणिज्य सङ्घ पछि हटेको बताए।

उनले भने‘ पर्यटनको प्रवर्द्धनसँगै स्थानीय उत्पादन गर्दै उत्पादित बस्तुको बिक्री वितरणमा गर्नुपर्छ अनि मात्र पर्यटन प्रवर्द्धन हुनसक्छ ।‘ पर्यटन विकासका लागि पर्यटनमैत्री वातावरण आवश्यक रहेको बताउँदै सबै धर्म, जातजाति र समुदाय मिलेर पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने उनले बताए।
धरानको भानुचोकस्थित खुला क्षेत्रमा आयोजना गरिएको उक्त उत्सव शुक्रवारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

उत्सवमा भारतको बिहारबाट ठुलो सङ्ख्यामा सांस्कृतिककर्मी, पर्यटनकर्मी, पत्रकार, कलाकार तथा विद्यालय सञ्चालकहरू सहभागी छन्।
कोसी प्रदेश सरकारले निजी क्षेत्रको सहकार्यमा २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाइरहेको छ। सोही सन्दर्भमा भारतीय पर्यटक लक्षित गर्दै ‘कोशीमा बिहार उत्सव २०८२’ आयोजना गरिएको हो।

उक्त उत्सव पर्यटन कार्यालय धरानको प्रवर्द्धन, सुनसरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा होटेल एसोसिएसन अफ धरान र होटेल व्यवसायी समिति धरानको सहकार्यमा आयोजना गरिएको हो।

उत्सवका अवसरमा सीमापारिका उद्योगी व्यवसायीबिच व्यापार, उद्योग तथा लगानीका सम्भावनाबारे अन्तरक्रिया, दुई देशका कलाकारहरूको सांस्कृतिक प्रस्तुति, कला कार्यशाला, पर्यटन प्रवर्द्धन गतिविधि तथा विविध खाद्य स्टलहरू रहेका छन्।

कार्यक्रम संयोजक नारायण लिम्बुले धरानमा आयोजना गरिएको यो उत्सवले कोसी कोरिडोरका सम्पूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।