धरान : पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको अनुगमन भ्रमणमा मङ्गलवार धरान आइपुगेका शिक्षा मन्त्री सस्मित पोख्रेलसंग क्याम्पसको जीर्ण संरचना मर्मत, आधुनिक ल्याब, विद्यार्थी सुविधा विस्तारको लागि आवश्यक बजेट माग गरिएको छ ।

अनुमानित एक अर्ब रुपैयाँ भन्दा बढी बजेट आवश्यक भएको प्रस्तावित योजना प्रस्तुत गरेपछि मन्त्री पोखरेलले भने ‘फाइनान्सियल रिपोर्ट हेरेर युनिभर्सिटीसँग कुरा गरौँला ।’

क्याम्पस प्रमुख काजीमान कार्कीले मन्त्री पोख्रेललाई क्याम्पसका भौतिक संरचना जीर्ण बन्दै गएको, ल्याबमा आधुनिक उपकरण अभाव, विद्यार्थी सुविधा विस्तारका लागि आवश्यक बजेट व्यवस्थापन गर्न आग्रह गरेका थिए ।

अवलोकन पश्चात् सञ्चारकर्मीले प्रतिक्रिया लिन खोज्दा मन्त्री पोख्रेलले तत्काल कुनै प्रतिक्रिया दिन मानेनन् । उनले भने ‘क्याम्पस प्रमुखलाई मन्त्रालयमा बोलाइएको छ, विस्तृत विवरण तथा गुनासो मन्त्रालयमै सुन्ने र सोही अनुसार प्रतिक्रिया दिइने छ ।’

क्याम्पस प्रमुख कार्कीले करिब ४२ देखि ४४ वर्ष पुराना भवनहरू जीर्ण बन्दै गएको र २०४५ सालदेखि अधिकांश भवनमा रङरोगन समेत नगरिएको बताए । उनका अनुसार क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था गर्न कम्तीमा ३ वटा फिल्टर प्लान्ट आवश्यक छ ।

हाल सञ्चालनमा रहेको महिला छात्रावासमा एक तला थप्ने योजना, छात्रावास क्षेत्रको सुरक्षा घेराबार विद्यार्थीको दैनिक सुविधा निम्ति क्याम्पसभित्र क्याफ्टेरिया निर्माण गर्ने योजना मन्त्रीलाई प्रस्तुत गरेका थिए ।

पूर्वाञ्चल क्याम्पसमा अन्तर्राष्ट्रिय मान्यता अनुसार ६० प्रतिशत शिक्षण, ३० प्रतिशत अनुसन्धान र १० प्रतिशत सामाजिक कार्य हुनुपर्ने भए पनि हाल अधिकांश समय शिक्षणमै सीमित रहेको र अनुसन्धान तथा प्रकाशन शून्यप्रायः रहेको बताइएको छ ।

विश्वविद्यालय अनुदान आयोगबाट पर्याप्त बजेट प्राप्त गर्न नसक्दा पुस्तकालयका लागि वार्षिक १० लाख रुपैयाँ समेत छुट्याउन नसकिएको क्याम्पस प्रमुख कार्कीले बताए ।

क्याम्पस क्षेत्रमा बाँदर र हात्तीको आतङ्कबाट सुरक्षाका लागि क्याम्पस वरिपरि कम्पाउन्ड वाल निर्माण आवश्यक छ ।

प्रस्तावित सुधार योजनामा जीर्ण संरचनाहरूको मर्मतका लागि ३६ करोड रुपैयाँ अनुमान गरिएको छ । आधुनिक ल्याब उपकरण खरिद गर्न १० करोड रुपैयाँ अनुमान गरिएको छ । सूचना प्रविधिमा ५० लाख, ५० प्रतिशत विद्यार्थी र ७० प्रतिशत कर्मचारीलाई आवास सुविधा प्रस्ताव गरिएको छ ।

क्याम्पसको जग्गामा सरकारी निकायसँगको सहकार्यमा ‘कोल्याबरेटिभ ल्याब’ सञ्चालनको योजना पनि प्रस्ताव गरिएको छ । सौर्य ऊर्जा सोलार प्रणाली जडान गरी क्याम्पसलाई ऊर्जामा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।

purwanchal campus minister