इटहरी :सुनसरीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई सांसदले प्रभावशाली जिम्मेवारी पाएका छन् ।
सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अशोक कुमार चौधरी संसदीय समितिको सभापति चयन भए भने समानुपातिक तर्फका सांसद प्रकाशचन्द्र परियार सचेतक बनेका हुन् ।
शुक्रवार सम्पन्न समिति सभापति चयन प्रक्रिया अन्तरगत चौधरीले कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिको जिम्मेवारी पाएका हुन् । इटहरी ५ स्थायी घर भएका चौधरी यसअघि समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य थिए ।
उता वैकल्पिक राजनीतिको वकालत गर्दै राजनीतिमा उदाएका परियारले समेत सचेतकको जिम्मेवारी पाएका छन् । नेपाली काँग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका उनी विवेकशील साझा हुँदा रास्वपाको संसदीय मोर्चाको नेतृत्व तहमा पुगेका छन् ।
रास्वपाले प्रमुख सचेतकमा कवीन्द्र बुर्लाकोटी र सचेतकमा क्रान्तीशिला धिताल र इटहरी २० घर भएका परियारलाई चयन गरेको हो ।


































































