वराहक्षेत्र : कोशी किनार प्रवर्द्धनकालागि वराहक्षेत्रको कोशी किनारामा ‘कोशी पर्यटन महोत्सव-२०८२’ को आयोजना गरिने भएको छ ।
कोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न सांस्कृतिक, मौलिक तथा रैथाने खानाको प्रवर्द्धनसँगै पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्य उक्त ‘कोशी पर्यटन महोत्सव २०८२’ को आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रमको सोमवार पत्रकार सम्मेलनमार्फत महोत्सवको तालिका र गतिविधिहरू सार्वजनिक गरिएको थियो ।
महोत्सवको मुख्य लक्ष्य कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई सफल बनाउँदै स्थानीय धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचार प्रसार गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रमअन्तर्गत २०८२ चैत २५ गते उद्घाटनसँगै अपराह्न ३ बजे पर्यटक स्वागत र साँझ ६ बजे साकेला तथा झाँगड नृत्यसहित सांस्कृतिक प्रस्तुति गरिनेछ।
चैत २६ गते कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्ना, चराचुरुङ्गी र हात्ती अवलोकन, त्यसपछि रामधुनी मन्दिर दर्शन तथा बोराबाँधमा सूर्यास्त अवलोकनको कार्यक्रम राखिएको छ। साँझ लाखे र धान नाचसहित सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ।
चैत २७ गते वराहक्षेत्र मन्दिर दर्शनपछि वराहक्षेत्रदेखि बोराबाँधसम्म र्याफ्टिङ, जेट बोट, एटिभी राइडिङ तथा नौका सयर आयोजना हुनेछ। साथै, १२ नम्बर नोज क्षेत्रमा बिच स्पोर्ट्स र साँझ स्थानीय कलाकारहरूको प्रस्तुति रहने महोत्सवमा स्थानिय संयोजक अंगत राईले बताए ।
महोत्सवमा भारत तथा तेस्रो मुलुकका करिब १५० पर्यटकसहित आन्तरिक पर्यटकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आगन्तुकलाई स्थानीय जातीय तथा रैथाने परिकारको स्वाद पनि उपलब्ध गराइनेछ।
पत्रकार सम्मेलनमा संयोजक अंगत राईले कार्यक्रमको अध्यक्षता गरेका थिए भने कोशी प्रदेश भ्रमण वर्ष २०८२ का सहसंयोजक भविश श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।


































































