वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत सोमबार सम्पन्न खेलमा वडा नं. ३ विजयी भएको छ।
वडा नं. ७ स्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा गोलको वर्षा भएको खेलमा वडा नं. ३ ले वडा नं. ८ लाई शून्यका बिरुद्ब ५ गोलको अन्तरले पराजित गरेको हो।  जितसँगै पहिलो संस्करणको विजेता समेत रहेको वडा नं. ३ प्रतियोगिताको उत्कृष्ट ६ मा प्रवेश गर्न सफल भएको छ। पराजित वडा नं. ८ भने नकआउट चरणबाटै बाहिरिएको छ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ३ का सुभराज लिम्बु‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।
प्रतियोगिताको पहिलो चरण नकआउट र त्यसपछि विजयी टोलीबिच लिग फर्म्याटमा खेलहरू सञ्चालन गरिने आयोजकले जनाएको छ। नकआउट चरणअन्तर्गतको अन्तिम खेल मङ्गलवार वडा नं. ७ र वडा नं. ९ बिच हुनेछ ।
“खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नारासहित सञ्चालन भइरहेको प्रतियोगिता वैशाख २५ गतेसम्म जारी रहनेछ। नगर खेलकुद विकास समितिको आयोजनामा २०७९ सालदेखि लिग-कम नकआउट ढाँचामा प्रतियोगिताको सुरुवात गरिएको हो।