धरान : धरानका निजी विद्यालयका सञ्चालकहरूको संयुक्त लगानीमा ‘कुलिन युनिफर्म हाउस’ नामक शैक्षिक सामग्री सप्लाई, विक्री कम्पनी सञ्चालनमा आएको छ । हाउसले स्कुले विद्यार्थीको युनिफर्म सिलाई, ब्याग, जुता, स्टोसनरीजन्य सामग्री विद्यार्थी अभिभावकलाई विक्री वितरण गर्दछ ।
युनिफर्म हाउस खुलेपछि शिक्षाको व्यापारीकरण भएको आरोप लाग्दै आएकोमा ‘अब स्कुल सञ्चालकहरू आफै संलग्न रही शैक्षिक सामाग्रीको व्यापार पनि गर्न थालेको’ भनी उद्घाटनकै अवसरमा अभिभावकहरूले टिप्पणी गरे ।
२०८३ को नयाँ शैक्षिक सत्र सुरु हुन लागे सँगै करिब १ करोड रुपैयाँ लगानीमा १७ जना साझेदारको संयुक्त लगानीमा कुलिन युनिफर्म हाउस खुलेको हो । धरान-१२ छाताचोक स्थित विश्राभा कम्प्लेक्सको भुईँतलामा रहेको युनिफर्म हाउस चैत २८ गते  शनिवार देखि सञ्चालनमा आएको छ ।
संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरी ‘बोधित्व गार्मिन्ट’ तथा ‘कुलीन परिवार’को सहकार्यमा युनिफर्म हाउसमा संलग्न १७ मध्ये १५ जना लगानीकर्ता निजी विद्यालयका सञ्चालक रहेका छन् ।
लगानीकर्तामा स्कुल सञ्चालकहरू पनि 
लगानीकर्ताहरूमा कम्पनी अध्यक्ष सचिन बराल, सचिव होली गार्डेन धरान १ का सञ्चालक राजेन्द्र गुरुङ छन् । लगानीकर्ताहरू नारायण अग्रवाल, जोलसाया एकेडेमीकी प्रतिक्षा राई, इम्मानुएल बोर्डिङका प्रवास राजवंशी, एप्पल मन्टेश्वरीकी जुली सुब्बा, विद्या भूषणका पीसी ढकाल सदस्य छन् ।
साथै सियोन स्कुलका खड्गबहादुर मगर, इस्टर्न एजुकेशन एकेडेमीका पवन ग्लान, कार्मेल स्कुलका वीरबल शेर्पा, देउराली चिल्ड्रेनका पृथ्वी राईका मगर,समिट बोर्डिङका रमेश दाहाल, लिबर्टी स्कुलका भगत लिम्बु र अशोक राई सदस्य छन् ।
हाउसमा सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाको पनि लगानी रहेको छ । स्कुल सञ्चालकहरूको संयुक्त लगानीको साझेदार कम्पनी गार्मेन्ट कम्पनी बोधित्व गारमिन (प्रा).ली र कुलायन युनिफर्म हाउस दुई वटा रहेको र दुवै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको बताइएको छ ।
यसरी निजी स्कुल सञ्चालकको भूमिकामा शैक्षिक सेवा प्रदायक रहेकाहरू अब शैक्षिक सामग्री व्यवसायका लगानीकर्ताका रूपमा विस्तार भएको पाइएको हो ।
यसबाट विद्यार्थीहरूका युनिफर्म देखी शैक्षिक सामाग्रीहरूमा सञ्चालकहरूको सिण्डीकेट कायम हुने हो कि भन्ने आशङ्का सरोकारवालाहरूमा उत्पन्न भएको छ । सिण्डिकेट कायम भए अभिभावकहरू र शैक्षिक सामाग्रीका व्यवसायी, युनिफर्म सिलाउने टेलर्स र कपडा पसलेहरू प्रभावित हुने उनीहरूको भनाई छ ।
सिण्डिकेटको आशङ्का 
धरानमा युनिफर्म हाउस खुलेंसंगै अभिभावकहरूले विद्यालयहरूले युनिफर्म हाउसकै भिजिटिङ कार्ड दिएर सोही स्थानबाट मात्र ड्रेस खरिद गर्नुपर्ने बाध्यता सिर्जना गरेको गुनासो गरेका छन् । अन्य पसलमा सस्तो मूल्यमा उपलब्ध सामग्री हुँदाहुँदै विद्यालयले तोकेको स्थानबाटै खरिद गर्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ ।
धरान-१३ पुलिस स्कुलका एक अभिभावक भन्छन्, ‘स्कुलले नै तोकेको पसलबाट मात्र सामान किन्नुपर्ने दबाब हुन्छ, अन्यत्र सस्तो पाइए पनि त्यहीँबाट किन्नुपर्ने बाध्यता हुँदा आर्थिक भार बढेको छ ।’
अभिभावकहरूका अनुसार बजारमा करिब ४०० रुपैयाँमा पाइने कपडाको मूल्य स्कुलले तोकेको पसलहरूमा ६०० रुपैयाँसम्म लिइने गरेको छ । १०० रुपैयाँ पर्ने बेल्ट १५० रुपैयाँ सम्ममा खरिद गर्नु परेको छ ।
वर्षमा कम्तीमा पनि २ जोर खरिद गर्नु पर्ने युनिफर्म सहितका सामाग्रीसँगै पाठ्य पुस्तक र कापी लगायतका स्टेशनरीमा पनि यस्तै किसिमको उर्दी स्कुलबाट अभिभावकलाई हुने उनीहरूले बताउँछन् ।
यसअघि स्कुल सञ्चालक प्रत्यक्ष रूपमा शैक्षिक सामाग्रीको व्यापारमा जोडिएका थिएनन् । तर यस्तो सिण्डिकेट कायम थियो, एक पुस्तक पसल अनुसार सामान्य एउटा स्कुललाई एक देखी डेढ लाख कमिसन बुझाउनु पर्ने अवस्था छ ।
युनिफर्म हाउस खुलेपछि स्कुल सञ्चालकहरू प्रत्यक्ष रूपमा ड्रेस देखी शैक्षिक सामग्री व्यापारमा  जोडिएको देखिएका छन् । यो अवस्थामा अभिभावकहरूले स्कुल सञ्चालकहरूको कुरो काटेर सुविधाजनक ठाउँमा खरिद गर्न नसक्ने उनीहरूको भनाई छ ।
व्यवसायीहरू रुष्ट  
‘विद्यालय सञ्चालकहरू कि स्कुल छोडेर सिधै व्यापारमा आउनु पर्‍यो कि शिक्षाको काम मात्र गर्नु पर्‍यो दुई वटै खुट्टा एउटै नाउमा हाल्नु भएन’ धरानका कपडा पसलवालाहरूको भनाई छ ।
विद्यालय सञ्चालकहरू शैक्षिक सामाग्रीको व्यापारमा संलग्न हुँदा स्थानीय व्यवसायमा अनुचित प्रभाव पर्ने र त्यसले सर्वसाधारण अभिभावकलाई बजारको प्रतिस्पर्धाबाट लाभ लिन नदिनु उचित नहुने कपडा पसलेको भनाई छ ।
उनका अनुसार सञ्चालक आफै व्यापारी आफै भएपछि स्कुल र पसल अनुकूल निर्णय गरेर सिण्डिकेट कायम गर्नेछ । आपूर्ति सञ्जाल एउटै समूह भित्र जोडिँदा कायम हुने एकाधिकारले बजारका अन्य व्यवसायीलाई असर गर्ने व्यवसायीहरू बताउँछन् ।
धरानका स्टेशनरी तथा टेलर व्यवसायीहरूले निजी विद्यालयहरूबाटै स्कुले व्यापारमा एकाधिकार जमाउन नयाँ कम्पनी खुलेको आरोप लगाए ।  
एक स्टेशनरी व्यापारीका अनुसार विद्यालय प्रशासन र निश्चित व्यापारीहरूबिच आर्थिक कमिसनको मिलेमतो हुने अनि मात्र व्यापार सुरु हुने गर्छ । विद्यालय प्रशासनलाई मोटो रकम नदिई अनुमति नपाइने उनले बताए ।
उनले भने ‘विद्यालयले नै यति रकम भनेर अफर गर्छ ।’ यही कारण तोकिएका पसलहरूमा सामग्रीको मूल्य बजार दरभन्दा महँगो हुने गरेको उनको भनाई छ ।
स्थानीय टेलर व्यवसायीका अनुसार विद्यालयहरूले एकमुष्ट रूपमा बाहिरबाट ड्रेस सिलाएर ल्याउने वा निश्चित पसल मात्र तोकिदिँदा स्थानीय साना टेलरहरूको व्यवसाय र रोजीरोटीमा गम्भीर असर पर्ने निश्चित छ ।
लिवर्टी टेलर्सका सञ्चालक सहवास खानका अनुसार विद्यालय प्रशासन र व्यापारीहरूबिच हुने कथित आर्थिक मिलेमतोको प्रत्यक्ष असर अभिभावकहरू माथि पर्छ । उनले भने ‘स्कुललाई कमिसन दिँदा व्यवसायी मर्कामा पर्दै आएको कुरा व्यवसायीहरू बिच छलफल विषय बनेको छ ।’
उनका अनुसार सञ्चालक आफै व्यापारी आफै भएपछि स्कुल र पसल अनुकूल निर्णय गरेर सिण्डिकेट कायम गर्न सक्ने देखिन्छ । आपूर्ति सञ्जाल एउटै आर्थिक समूह भित्र जोडिँदा बजारमा एकाधिकार बढ्ने र प्रतिस्पर्धा घट्ने सम्भावना रहेको अभिभावकहरूको भनाई छ ।
युनिफर्म सिलाई गर्ने साना पसल तथा स्टेशनरी व्यवसायीहरूका लागि यस्तो संयुक्त लगानीको सिण्डिकेट चुनौती बन्ने देखिएको छ । सञ्चालकहरूको सिण्डिकेटले बिस्तारै बजारका साना व्यवसायीलाई समाप्त गर्न सक्छ ।
शैक्षिक सामग्रीको गुणस्तर र सहजता  
uniform-house
युनिफर्म हाउसका सञ्चालकहरूले भने विद्यार्थीलाई आवश्यक सामग्री एकै स्थानमा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले व्यवसाय सञ्चालन गरिएको बताएका छन् । बजारमा छरिएको खुद्रे आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न र गुणस्तरीय सामग्री सुनिश्चित गर्न हाउस खोलिएको उनीहरूको भनाई छ ।
युनिफर्म हाउसका सचिव राजेन्द्र गुरुङ भन्छन् ‘गुणस्तरीय सामग्री एकै स्थानमा उपलब्ध गराउने लक्ष्य सहित व्यवसाय सञ्चालन गरिएको हो ।’ उनका अनुसार यहाँ नेपालमै उत्पादन भएका कपडाबाट तयार पारिएका युनिफर्म, झोला तथा विद्यार्थीका अन्य आवश्यक सामग्री उपलब्ध गराइएको छ ।
सञ्चालकहरू उत्साहित :
निजी विद्यालय सञ्चालकहरूको लगानीमा खुलेको युनिफर्म हाउसको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले गरेका हुन । माध्यमिक तहको शिक्षाको नियामक निकाय उपमहानगरपालिकाका प्रमुखबाट स्कुल सञ्चालकहरूको सामाग्री व्यापारमा संलग्नताप्रति शुभकामना प्रकट गरेकाले पनि सञ्चालकहरू उत्साहित छन् ।