इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले अतिक्रमित संरचना हटाउने र खोलापैनि सफाइ गर्ने अभियान चलाए । सर्वप्रथम २०८० असार ३१ गते मेयर पौडेलले खोला पैनी वरिपरिका संरचना हटाउने जरुरी सूचना निकाले । टेङ्ग्रा खोला, खेती खोला र सुकुमारी पैनीबाट ६ मिटर दाँयाबाँया छाडेर संरचना नबनाउँदा इटहरी उपमहानगरपालिकालाई गम्भीर असर पुगेको उनले उल्लेख गरेका थिए । ३५ दिन भित्र संरचना नहटाएर कानुन अनुसार उपमहानगरपालिकाले भत्काउने भनीएपनि पछि त्यसलाई कार्यान्वयनमा ल्याइएन ।

पछि २०८० चैत २७ गते इटहरी उपमहानगरपालिकाले सरकारी जग्गा ओगटेर बनाएका संरचना हटाउन सात दिने अल्टिमेटमको सूचना प्रकाशित गर्यो । तत्कालीन निम्ति प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीद्वारा जारी गरिएको अल्टिमेटममा कसैले अटेर गरे कानुन अनुसार प्रक्रिया अघि बढ्ने उल्लेख थियो । सूचना अनुसार कार्यालय, विभिन्न संस्था र उद्योगहरूले सार्वजनिक ऐलानी जग्गा ओगटेर बनाएका संरचना तत्काल हटाउन भनिएपनि कार्यान्वयनमा आएन ।

पुनः पहिलो पटक भन्दै उपमहानगरपालिकाले २०८१ वैशाख २५ गते खेती खोला वरिपरिका भवन तथा संरचना हटाउन ३५ दिने सूचना जारी गर्‍यो । पुरानै तरिकाले कारबाहीको चेतावनी सहितको सूचनामा यस पटक खेती खोला केन्द्रित उल्लेख गरियो । सूचना प्रकाशित भएको दुईबर्ष पुरा हुँदा समेत कारबाही सुरु भएको छैन ।

इटहरी ४ मा अवस्थित हाम्रो इङ्लिस बोर्डिङ स्कुल खेती खोला मिचेर बनेको छ । खोलाको भागमा बोर्डिङको प्रशासनिक भवन अवस्थित छ । खेतीखोला सफाइ अभियानको क्रममा २०७४ माघमा रातो स्टिकर लगाउने काम भएको थियो । इटहरी उपमहानगरपालिकाले गठन गरेको सार्वजनिक जग्गा खोजविन समितिले ९ सय ९५ बिगाहा जग्गा फेला पारेको थियो ।

२०७५ फाल्गुन ०६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपमहानगरपालिकालाई पत्र पठाउँदै सार्वजनिक जग्गा मिच्ने बोर्डिङ स्कुलको स्केच सहित पत्र पठाउन भनेको थियो । जसमा इटहरी ४ मा पर्ने खेती खोला अतिक्रमण गरेर बनाइएको हाम्रो बोर्डिङ स्कुल र इटहरी ८ मा टेङ्ग्रा खोला मिचेर बनेको नमुना कलेजको जग्गाको विषयमा स्पष्ट प्रमाण माग गरिएको थियो । 

इटहरीबाटै सुरु भएको थियो डोजर अभियान 

पूर्व मेयर द्वारिकलाल चौधरीले २०७४ को स्थानीय तह निर्वाचनमा विजयी भए लगत्तै सार्वजनिक जग्गा खोजविन र खोला पैनी सफाइको लागि डोजर अभियान चलाउने मेयर हुन् चौधरी । खोला पैनी मिचेर बनेका संरचना भत्काउन देखि सार्वजनिक जग्गामा डोजर चलाउने अभियान उनैले सुरुवात गरेका हुन् ।

अहिले डोजर चलाएर जग्गा खाली गर्ने अभियान देशव्यापी बनेको छ । इटहरीमा नेकपा एमाले इटहरीको पार्टी कार्यालय देखी निजी स्कुल र सहकारी भवन खोला र पैनी मिचेर बनेको पाइएको छ । इटहरी-६ मा रहेको नेकपा इटहरीको नगर कमिटीको कार्यालय पैनीमाथि निर्माण भएको छ । 

इटहरी-५ स्थित सिमरबना सहकारी संस्थाको भवन पनि पैनीमाथि नै निर्माण भएको छ । पैनीमाथि निर्माण भएको भवनमा सहकारीले कार्यालय चलाउँदै सटर भाडामा समेत लगाइरहेको हो । ६ वटा सटर बापत पैसा लिनेगरी कोटेसन आह्वान गरी निर्माण भएको व्यापारिक भवनको नक्सा पास समेत हुन सकेको छैन ।

२०७७ सालमै सङ्घीय सरकारले स्थानीय सरकारलाई पठाएको पत्रानुसार खोला देखी ३० मिटर असापासको क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाइने व्यवस्था उल्लेख गरेको छ । तर स्थानीय सरकारमा कति मिटरमा उपयुक्त हुन्छ भन्ने बारे एक समितिले अध्ययन गरेको थियो । जसले टेङ्ग्रा र खेती खोलाको किनारमा संरचना निर्माण गर्दा ६ मिटर छाड्नुपर्ने प्रतिवेदन तयार पारेको थियो ।

यस बिचमा टेङ्ग्रा खोला सफाइ गरे पनि जसको कारण इटहरी १२ र १३ नम्बर वडामा धेरै क्षति भयो । टेङ्ग्रा खोलामा आएको बाढीले पुल देखि निजी जग्गामा बनेका घरहरू भत्कायो ।

itahari-kheti-khola