धरान : आज बिहीबारदेखी सुरु भएको एसइई परीक्षामा सुनसरी जिल्लाबाट १३ हजार ९७७ जना परीक्षार्थी सहभागी भएका छन् । परीक्षा आज बिहीबारदेखी सुरु भइ चैत २९ गते सम्म सञ्चालन हुनेछ।
परीक्षाका सुनसरीका ७ धार्मिक विद्यालय, २ विशेष विद्यालय, ११७ सामुदायिक विद्यालय र २०४ संस्थागत विद्यालय गरी कुल ३२१ सामुदायिक र संस्थागत विद्यालयका कुल १३ हजार ९७७ जना परीक्षार्थीहरू सामेल भएको जिल्ला शिक्षा विकास समन्वय समिति प्रमुख देवेन्द्रबहादुर मल्लले बताए ।
उनका अनुसार साधारण तर्फ १२ हजार ६४६ जना र प्राविधिक धार तर्फ ३ सय ९६ जना परीक्षार्थीहरू परीक्षामा सामेल भएकाछन् ।उक्त सङ्ख्यामा ७०४४ छात्र, ६९३३ छात्रा परीक्षार्थी छन् ।
त्यसमध्ये नियमित तर्फ १२ हजार ६४६ जना छन् । ग्रेड वृद्धि नयाँ पाठ्यक्रम तर्फ ९०४, पुरानो पाठ्यक्रम तर्फ २२ जना र ग्रेड वृद्धि प्राविधिक तर्फ ९ जना परीक्षार्थी छन् ।
धरानका १० केन्द्रमा २ हजार ८७१ 
माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत धरान उपमहानगरपालिका भित्रका १० वटा परीक्षा केन्द्रमा २ हजार ८७१ जना परीक्षार्थी सहभागी भएका छन्।प्राप्त तथ्याङ्क अनुसार सामुदायिक विद्यालयतर्फ १ हजार ४५१ जना विद्यार्थी सहभागी रहेका छन्। तीमध्ये नियमिततर्फ १ हजार १५१ जना तथा ग्रेड वृद्धितर्फ ३२४ जना रहेका छन्।
त्यसैगरी संस्थागत (निजी) विद्यालयतर्फ १ हजार ४२० जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका छन्। तर,सहभागी विद्यार्थीमध्ये कति छात्रा र कति छात्र छन् कति विद्यार्थीहरूले परीक्षा दिई रहेका छन् भन्ने विषयमा धरान उपमहानगरपालिका शिक्षा महाशाखा अनभिज्ञ रहेको पाइएको छ।
शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्काका अनुसार सामुदायिक तथा संस्थागत विद्यालयतर्फ कति विद्यार्थीले एसइई दिइरहेका छन् एकिन विवरण हालसम्म उपलब्ध नभएको बताएका छन् । महाशाखा प्रमुख खडकाले विस्तृत तथ्याङ्क अद्यावधिक प्रक्रियामा रहेको  बताए । 
विगतका एसइई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने प्रावधान थियो ।
२०८० साल देखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
सुनसरीमा जिल्ला शिक्षा इकाईको तथ्याङ्क अनुसार एसइई परीक्षामा सहभागी ७ धार्मिक विद्यालय २ विशेष विद्यालय समेत कुल ११७ सामुदायिक विद्यालय छन् । संस्थागत २०४ समेत कुल विद्यालय सङ्ख्या ३२१ रहेका छन् ।
जिल्लाका १२ वटा स्थानीय तहमा ५० परीक्षा केन्द्र तोकिएको छ । धरानमा १०, इटहरीमा ११, ईनरुवामा ६, कोशी गापामा २, दुहबीमा ३, देवान गन्जमा १, वराहक्षेत्रमा ७, बर्जु गापामा ३, भोक्राह नरसिंहमा १, रामधुनी नपामा ३, हरिनगरा गापामा २ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।
परीक्षा केन्द्रहरूमा जनशक्तिका रूपमा ५० केन्द्राध्यक्ष,८९ सहायक केन्द्राध्यक्ष, ६८०निरीक्षक, १ सय ३५ परीक्षा सहायक,२७१ कार्यालय सहयोगी खटिएको समिति प्रमुख मल्लले जनाए ।
परीक्षामा चिट चोर्न र चोराउन नपाउने गरी केन्द्राध्यक्षलाई प्रशिक्षण दिँदै परीक्षा मर्यादित, भयरहित र व्यवस्थित गर्न निर्देशन दिएको समन्वय प्रमुख मल्लले जानकारी दिए ।
मल्लले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र निरीक्षकको भूमिकाको विषयमा प्रशिक्षण गरिएको समेत बताए ।
परीक्षा केन्द्र निर्धारण भएको विद्यालयकै प्रधानाध्यापक वा वरिष्ठ शिक्षकलाई केन्द्राध्यक्ष तोकी तालिम समेत दिएको बताए ।
सुनसरीमा गत वर्ष १३ हजार ६६३ जना परीक्षार्थी सामेल भएका थिए त्यसमध्ये ७०१४ छात्र, ६०४९ छात्रा परीक्षार्थी रहेका थिए ।आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिएसँगै परीक्षा सम्पन्न भएको केन्द्रमै उत्तर पुस्तिका परीक्षण सुरु गरिएको छ।