इनरुवा : सुनसरीको सदरमुकाम समेत रहेको इनरुवाको इतिहास समेटिएको 'इनरुवाको नालीबेली' नामक पुस्तक विमोचन गरिएको छ।
इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारीले एक कार्यक्रमका बिच पुस्तकको औपचारिक विमोचन गरेका हुन्। देवीप्रसाद खतिवडाद्वारा लिखित उक्त पुस्तकमा इनरुवाको राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, शिक्षा तथा स्वास्थ्य लगायत विभिन्न क्षेत्रको इतिहास समेटिएको बताइएको छ।
९४ वर्षीय लेखक खतिवडाले लामो समयको अध्ययन र अनुसन्धानपछि पुस्तक तयार पारेका हुन्। पुस्तक लेखन तथा सामग्री सङ्कलनको कार्यमा युवा प्रज्ज्वल काफ्लेले समेत सहयोग पुर्याएका छन्।
इनरुवाको इतिहास, विकासक्रम तथा विभिन्न सामाजिक गतिविधिलाई एकै स्थानमा समेट्ने प्रयास स्वरूप पुस्तक प्रकाशन गरिएको लेखकले बताएका छन्।
स्थानीय इतिहासलाई भावी पुस्तासम्म पुर्याउने उद्देश्यले पुस्तक तयार गरिएको पनि कार्यक्रममा उल्लेख गरिएको थियो।



































































