धरान : मे १ अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन शुभकामनाले सामाजिक सञ्जाल भरिएको, औपचारिक कार्यक्रमहरू श्रमिक हकहितका आदर्शवादी भाषण भइरहेको बेला पेशागत श्रमिक सिताराम मोची भने समस्यामा थिए ।
दिउँसो चर्को घामसँगै दर्किएको पानी । निधारमा चिटचिट पसिनासँगै एक छिनमा परेको पानीले भिजेको शरीर लिएर जुत्ता, चप्पल सिउँदै गरेको अवस्थामा धरान-१२ चतरा लाइनमा भेटिए सिताराम । धरान-११ आँपगाछीमा डेरा गरी बस्ने उनलाई मजदुर दिवसले छोएको देखिएन ।
पानी परिरहेको बेला पनि चप्पल सिलाउन व्यस्त सितारामले भने ‘श्रमिक दिवस भनेर के गर्नु गरिबको घर एक दिन काम गरेन भने छाक टर्दैन ।’ चप्पल लिने मान्छे आउने बेला भएकोले पानी परे पनि सक्नुपर्छ भनी उनी सिलाई रहे ।
समयमा दिएन भने बल्ल बल्ल आएको ग्राहक भोली देखि नआउने उनले बताए । उनले भने ‘अचेल मान्छे जुत्ता सिलाएर लगाउनै छोडे ।’ हिजोआज दिनमा ६/७ जना पनि मान्छे पनि जुत्ता सिलाउन नआउने उनको भनाई छ । पहिला दिनमा ४० देखि ५० जना सम्मको जुत्ता सिलाउँदा ज्याला १० देखी २० रुपैयाँ मात्र हुन्थ्यो ।
सिताराम ६० वर्षका भए । उनको ५ जना छोराछोरी सहित ७ जनाको परिवार छ । बुबाको पेशा समाल्दै आएका सिताराम मोचीले २०४१ सालमा पब्लिक स्कुलबाट १० कक्षाको टेष्ट परीक्षा दिएका थिए ।
परिवारको जेठा छोरा भएकाले एसएलसी परीक्षा दिन नपाई परिस्थितिले सानै उमेरमा ठुलो जिम्मेवारीले थिचेपछि भारततिर काम गर्न गए । भारतमा विभिन्न ठाउँमा काम खोज्दै भौतारिएपछि उनी २०४२ सालमा धरान फर्किएर बुबाको पेशा गर्दै आएका छन् ।
२०४५ सालमा बुबाको निधन भएपछि परिवारको सबै जिम्मेवारी आईलाग्यो । उनको कमाइको स्रोत नै जुत्ता सिलाउने काम मात्र भयो । बुबाको मृत्यु भए पछि उनको नागरिकता समेत नभएका कारण जुत्ता सिलाउन मै व्यस्त छन् उनी ।
उनले जुत्ता सिलाउने काम गरेको ४० वर्ष भयो । दैनिक ज्याला ५ देखि ६ सय रुपैयाँ कमाउने उनले बताए । सितारामले भने ‘५ वर्ष अघि सम्म दिनकै ४० देखि ५० जना सम्मको जुत्ता सिलाईन्थो, ज्याला १० देखि २० रुपैयाँ मात्र लिइन्थ्यो कमाई दैनिक ५ सय सम्म हुन्थ्यो ।’
अहिले कमाई ५ देखि ६ सय मात्र हुन्छ । पहिला काम अनुसार कमाइ पनि ठिकै हुन्थ्यो अहिले काम पनि हुँदैन कमाई पनि हुँदैन भन्ने उनको भनाई छ । भने ‘दैनिक घर चलाउनै गाह्रो अवस्था छ ।’ कमाई यसरी घट्नुको कारण उनी भन्छन् ‘च्यातिएको, सिलाएको र टालेको तँ मान्छेहरूले जुत्तै लगाउनै छाडे ।’
उनका अनुसार मानिसले छालाको जुत्ता लगाउँदा फाटेको ठाउँ टाल्न, सिलाउन पाइन्छ । हिजोआज अनेक र्यागजिन र प्लास्टिकका जुत्ता मात्र लगाउँछन् । लगायो फाल्दियो गर्न थालेपछि जुत्ता मर्मतको कमाई घटेको हो । सितारामले भने ‘मजदुर दिवस मनाएर कमाई बढ्ने होइन ।’
छाता चौक तलतिर बाटो छेउ मकै पोल्दै गरेकी धरान-३ की लिसा कार्की पनि मजदुर दिवसको दिन दैनिक काममा व्यस्त थिइन् । २५ वर्षीय कार्कीले एसएलसी पास गरेर मन्टेश्वरी पढाउँथिन । पोहोर देखी पढाउन छाडेर मकै पोलेरै मासिक २० देखी २५ हजार कमाउँछिन् ।
पहिला आमाले मकै पोलेर बेच्ने गरेकोमा आमा अशक्त भएपछि उनी मासिक ८ हजार दिने मन्टेश्वरीको जागिर छोडेर रमाउँदै मकै पोलेर कमाउँदै छिन । मजदुर दिवस उनलाई थाहा नभएको भने होइन । भन्छिन् ‘५ जनाको परिवार छ, एक दिन काम गरेन भने घर धान्न गाह्रो हुन्छ मजदुर दिवस मनाउन गएर के गर्नु ?’
उनी भन्छिन् ‘काम ठुलो सानो हुँदैन ।’ नेपालमा काम सानो देखेर विदेश जाने युवा गरे कमाई नराम्रो नभएको उनको भनाई छ । अरूको देशमा अरूको काम गरेर भन्दा आफैले सानो भए पनि व्यापार व्यवसाय गर्नु पर्छ । आफ्नै देशमा कमाउनु र रमाउनु पर्छ ।
सफारी चालक धन कुमारी हायु भन्छिन् ‘मजदुर दिवस त घर धान्नको लागि सफारी चलाएरै मनाउनु परेको छ ।’ नचलाए चुलो पनि नबल्ने उनले बताइन् । सफारीबाट दैनिक १ हजार देखि १२ सय सम्म कमाउने गरेकी छन् उनले । ३ जनाको परिवार छ । दैनिक ५ सय खाना र खाजामा खर्च हुने उनको भनाई छ ।
उनका अनुसार २ सयले छोरा पढाउनुमा खर्च हुन्छ । ५ सय दैनिक सहकारीको किस्ता छ । मजदुर दिवस मनाएर एक दिनको किस्ता र खर्च कहाँबाट आउँछ ? दैनिक ज्याला मजदुरीमा काम गर्ने मजदुरहरूलाई श्रमिक दिवसको उत्सव मनाउन भन्दा पनि आफ्नो काम नै प्यारो लाग्ने उनको भनाई छ ।
८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको नारा सहित सुरु भएको अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी आज विश्व भर मनाइएको छ । अमेरिकाको सिकागोबाट सुरु भएको मजदुर आन्दोलन सफल भएसँगै उत्सवका रूपमा हरेक वर्षको मे १ मा यो दिवस मनाउन थालिएको हो ।
फ्रान्सको पेरिसमा सन १८८९ मा सम्पन्न विश्व श्रम सङ्गठनहरूका नेताहरूको बैठकले विश्वभरि श्रमिक दिवस मनाउने निर्णय गरेको अनुसार श्रमिकहरूको हक अधिकार सुनिश्चितताका लागि दबाब सिर्जना गर्ने उद्देश्यले श्रमिक दिवस मनाइँदै आइएको छ ।
नेपालमा पनि २००७ सालको मजदुर आन्दोलनपछि विश्व श्रमिक दिवस मनाउन थालिएको हो। दिवसमा देशैभरि सार्वजनिक बिदा दिने गरिएको छ । यसपालि १३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल लोकतान्त्रिक महासङ्घले लगायत मजदुर सङ्गठनहरूले विभिन्न कार्यक्रम सहित मनाएको छ ।