इटहरी : पूर्वाञ्चल विश्वविद्यालय गोठ गाउँमा मेडिकल शिक्षा सञ्चालन हुने भएको छ । चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पूर्वाञ्चल विश्वविद्यालयलाई ५० सिटको लागी एमबिबिएस भर्ना गर्ने बाटो खुलाएको हो । 
चिकित्सा शिक्षा आयोगको बैठकले मेडिकल कलेज (एमबिबिएस) मा पहिलो पटक भर्नाको लागि सिट खुलाएको हो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा २०५२ सालमा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयमा लामो समयदेखि चिकित्सा शिक्षा अध्ययनको लागि माग हुँदै आएको थियो । हाल नर्सिङ, विएन, फार्मेसी, वन विज्ञान लगायत विषयमा अध्ययन हुँदै आएको छ । नर्सिङका लागि भने २० सिट रहेकोमा त्यसलाई बढाएर ३० पुर्‍याइएको छ । 
मेडिकल कलेजको लागि लामो समयदेखि सङ्घर्ष गरिरहेको स्थानीय राजनीतिक दल तथा नागरिकको भने २० वर्ष देखिको सपना पुरा भएको छ । यस बिचमा पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाज नै गठन गरेर विभिन्न माग राखेर आन्दोलन हुने गरेको थियो । 
विराटनगरमा भाडाको भवनबाट उपकुलपति र पदाधिकारीहरूले विश्वविद्यालय सञ्चालन गर्दै आएका थिए । २०७६ सालदेखि केन्द्रीय कार्यालय गोठ गाउँबाट कार्यालय सञ्चालन भएपछि स्थानीयले दीपावली समेत गरे । मेडिकल शिक्षाको माग राखेर स्थानीय सरकार देखि सांसदहरूले धेरै पटक छलफल चलाएर र डेलिगेसन गएका थिए । 
पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजको शिक्षण अस्पतालको रूपमा कोशी अस्पताललाई प्रयोग गर्नेगरि सम्झौता भइसकेको छ । २०७८ माघ २४ गते कोशी अस्पताल विराटनगरले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने उल्लेख छ । २०७९ माघ २३ गतेको मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालय र कोशी अस्पतालबिचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलिदिएको थियो ।
विश्वविद्यालयले यसअघि २०६२ सालमा १०० एमबिबिएसका विद्यार्थीको लागि प्रवेश परीक्षा लिइसकेको थियो । जुन  २०६२/६३ को जनआन्दोलनका कारण सफल हुन सकेको थिएन ।