धरान : सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठले महासचिवमा प्रभाव खतिवडा र कोषाध्यक्षमा शैलेश कुमार आचार्यलाई मनोनीत गरेको छन् ।

सङ्घको विधान अनुसार आज बिहीबार बसेको पहिलो बैठकले नवनिर्वाचित सदस्यहरू मध्येबाट अध्यक्षले २ पदाधिकारी मात्र मनोनीत गरेका हुन ।

बैठकमा सहभागी सङ्घका निवर्तमान महासचिव तथा नवनिर्वाचित सदस्य महेन्द्र प्रधानका अनुसार सङ्घको कार्य तत्काल सुचारु गर्न हाल २ मात्र पदाधिकारी मनोनयन गरिएको हो ।

कार्यसमितिका बाँकी पदाधिकारी भदौ पहिलो साता भित्र वर्तमान विधान संशोधन गरी मनोनयन गर्ने निर्णय भएको उनले बताए । विधान संशोधनका लागि विशेष साधारण सभा बोलाइने छ । विधानमा ७ दिन अघि सूचना दिएर विशेष साधारण सभा बोलाउने प्रावधान छ ।

उनले भने ‘विधान संशोधनमा सङ्घको कार्यसमितिमा पदाधिकारी सङ्ख्या बढ्न सक्ने भएकोले बाँकी पदाधिकारीको मनोनयन नगरिएको हो ।’ सङ्घको विधानलाई संशोधनद्वारा परिमार्जन गरी उद्योग वाणिज्य महासङ्घको संरचना अनुसार बनाउने तयारी भएको उनको भनाई छ ।

सङ्घको हालको विधान अनुसार अध्यक्षद्वारा निर्वाचित सदस्यहरूबाट कार्यसमितिका पदाधिकारीहरू मनोनीत गर्ने प्रावधान  छ ।

अध्यक्षद्वारा पदाधिकारी मनोनीत महासचिव खतिवडा उद्योग तर्फबाट निर्वाचित सदस्य हुन । कोषाध्यक्ष आचार्य वाणिज्य तर्फबाट निर्वाचित सदस्य हुन । असार ३० गते भएको निर्वाचनबाट अध्यक्ष सहित २० जना निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूको श्रावण २६ गते पदस्थापन भइसकेको छ ।