धरान : तरकारीको थोक बजारमा यसपालि गोलभेँडाको भाउ ह्वात्तै घटेको छ । थोक मूल्यका भाउ घटे पनि धरानको खुद्रा तरकारी बजारका विक्रेताहरूलाई नाफा भने घटेको छैन ।

कृषि बजारमा आज मङ्गलवार गोलभेँडा प्रति केजी १२ रुपैयाँ थोक मूल्यमा विक्री भइरहेको छ । आजकै दिन गत वर्ष २०८१ वैशाख २ गते गोलभेँडा प्रतिकेजी ३१ रुपैयाँ थोक भाउमा किनबेच भएको थियो । कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने ‘पोहोरका तुलनामा यसपालि गोलभेँडाको भाउ ह्वात्तै घटेको छ ।’

कृषि बजारमा यसपालिका सिजनमा अहिलेसम्म दैनिक गोलभेँडा १० देखि १२ टन आउने गरेको छ । सुनसरीको कोशी टप्पु, मोरङको रङ्गेली क्षेत्र तथा पश्चिम लालबन्दीबाट गोलभेँडा आउने गरेको उनले बताए ।

भट्टराईका अनुसार अहिले पहाडको गोलभेँडाको सिजन नभएकाले तराईको गोलभेँडा कृषि बजारबाट पहाडी जिल्ला जाने गरेको छ । कृषि बजारमा आएको गोलभेँडा धरानमा दैनिक १० देखी १२ टन खपत हुन्छ ।

त्यस बाहेक स्थानीय पाँचकन्या क्षेत्रबाट पनि धरानमा लोकल गोलभेँडा आउँछ । अनुमानित दैनिक ५०० केजी आउने लोकल गोलभेँडा कृषि बजार नपुगी खुद्रा बजारमै खपत हुन । उनका अनुसार गोलभेँडाको भाउ ७ रुपैयाँ केजी सम्म झरेको पनि देखिएको छ ।

खुद्रा विक्रेता नाफामै  

गोलभेँडाको थोक भाउ घटे पनि तरकारी बजारमा ल्याएर खुद्रा विक्री गर्नेहरूको नाफा भने घटेको छैन । उनीहरू बजारमा अहिले साँझ पख सस्तोमा विक्री गर्दा ‘१०० रुपैयाँमा ५ केजी टमाटर’ भन्दै विक्री गरिरहेका छन् ।

कृषि बजारबाट १० देखी १२ रुपैयाँ प्रतिकेजीमा ल्याएर खुदरा प्रति केजी २० रुपैयाँमा विक्री गर्दा उनीहरूलाई ८ रुपैयाँ देखी १० रुपैयाँ सम्म नाफा भइरहेको छ । गोलभेँडाको भाउ घटे पनि नाफा भने ५० प्रतिशत सम्म भइरहेको छ ।

सरकारको कालाबजारी ऐनले कुनै पनि बस्तुमा २० प्रतिशत भन्दा बढी नाफा राख्नु दण्डनीय मानेको छ । तरकारीको भाउमा उपमहानगरपालिकाले अनुगमन गरेको देखिँदैन । कृषि बजारले नै खुद्रा मूल्य तोकेर बजार भाउ नियन्त्रण गर्दै आएको छ ।

व्यवस्थापक भट्टराईले भने ‘सड्ने, गल्ने वस्तु भएको र ढुवानी खर्च समेतको कारण देखाई खुदरा विक्रेताहरूले कहीँ कतै बढी मार्जिन राख्ने गरेका छन् ।’ दैनिक अनुगमन नगरी सरकारी ऐन कानुन जस्ताको त्यस्तै लागु गर्न कठिन भएको उनले बताए ।

बन्दाकोपी सुँगुरलाई 

उनका अनुसार थोक भाउ घटेकोले बन्दाकोपी उपभोक्ताहरूले सिधै कृषि बजार आएर सुँगुरको चारोका लागि खरिद गर्ने गरेका छन् ।

कृषि बजारमा गत वर्ष यसै बेला बन्दाकोपी प्रति केजी १७ देखी २० रुपैयाँसम्ममा किनबेच भएको थियो । यसपालि प्रति केजी ८ देखी ९ रुपैयाँमा किनबेच भइरहेको छ । कृषि बजारमा बन्दाकोपी अहिले दैनिक १५ टन खपत भइरहेको छ ।

काउली फुलकोपीको थोक भाउ पनि गत वर्षको तुलनामा यसपालि सामान्य ह्रास आएको छ । गत वर्ष यसै बेला प्रति केजी ६० देखी ६५ रुपैयाँ प्रति केजीमा थोक खरिद विक्री भएकोमा यसपालि ४० रुपैयाँ प्रतिकेजी झरेको छ ।

घिउसिमीमा पनि थोक भाउ घटेको छ । गत वर्ष यसै बेला १०० रुपैयाँ प्रति केजीमा खरिद विक्री भइरहेको थियो । यसपालि सामान्य रूपमा भाउ घटेर ८० देखी ९० रुपैयाँ प्रति केजीमा विक्री भइरहेको छ ।

थोक बजारमा तरकारीको भाउ घटे पनि धरानका खुद्रा बजारमा त्यसको खासै प्रभाव परेको भने पाइन्न । कृषि बजारमा खरिद गर्न जाने उपभोक्ताहरूले भाउ घटबढको जानकारी पाए पनि सामान्य उपभोक्ताहरू त्यसबाट अनभिज्ञ पाइन्छन् ।