विराटनगर : घर परिवारबाट टाढा रहेर नागरिकहरूको सेवामा दिनरात परिचालित हुँदा आइपर्ने मानसिक तथा स्वास्थ्य समस्या प्रहरी सेवामा रहेकाहरूले लुकाएर र दबाएर राख्न नहुने मानसिक रोग विशेषज्ञहरूले सुझाव दिएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा विराट नर्सिङ होमका सहकार्यमा प्रहरी कर्मचारीहरूका लागि आयोजित मेन्टल हेल्थ तथा आत्महत्या न्यूनीकरण सचेतना कार्यक्रममा विज्ञहरूले उक्त सुझाव दिएका हुन ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी प्रदेश प्रहरी सभाहलमा मङ्गलवार आयोजित सचेतना कार्यक्रमको प्रमुख अतिथि थिए ।
उनले भने ‘स्वास्थ्य प्रहरीले मात्र स्वास्थ्य प्रहरी सेवा प्रदान गर्न सक्ने भएकोले प्रहरी कर्मचारीहरू शारीरिक र मानसिक रूपमा स्वास्थ्य रहन जरुरी छ ।’ त्यसैले सबैले आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल राख्नु आवश्यक रहेको नायब महानिरीक्षक अधिकारीको भनाई थियो ।
नायब महानिरीक्षक अधिकारीले भने ‘मानसिक स्वास्थ्य बिग्रिएमा व्यक्तिगत रूपमा गम्भीर असर पुग्नुको साथै परिवार र सम्पूर्ण समुदाय स्तरमा समेत नकारात्मक प्रभाव पर्दछ ।’
कार्यक्रममा विराट नर्सिङहोमका चिकित्सक मानसिक रोग विशेषज्ञ डा. राजन मिश्रले प्रहरीहरूलाई मेन्टल हेल्थ तथा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षणको क्रममा जीवनमा आइपर्ने विभिन्न किसिमका तनाव, पारिवारिक तथा सामाजिक समस्या, मस्तिष्कमा हुने रोग, दीर्घकालीन शारीरिक रोग, वंशाणुगत रोगका कारण मानिसको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुग्ने बताए ।
उनले भने ‘मानव मस्तिष्कलाई स्वास्थ्य राख्न सन्तुलित आहार, पर्याप्त निन्द्रा, मनोरञ्जन, शारीरिक तथा मानसिक रूपमा सक्रिय रहनु जरुरी हुन्छ ।’ मानसिक स्वास्थ्यमा समस्या आएमा मन मिल्ने साथी, आफन्तलाई जानकारी गराउन तथा मनोचिकित्सक, मनोसामाजिक परामर्शदाताको सहयोग लिन जरुरी भएको बताए ।
विराट ग्रुपकी सिईओ डा. निकिता कार्कीले प्रहरी कर्मचारीहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन विराट नर्सिङहोम कोशी प्रदेश प्रहरी कार्यालयसँग सहकार्य र समन्वयका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी लगायत सिनियर प्रहरी अधिकृतहरू, प्रहरीका कोशी प्रदेश निकायहरूका जुनियर अधिकृत तथा प्रहरीहरू सहभागी थिए ।