धरान : मकवानपुर हेटौडा-११ का ३२ वर्षीय राजेश लामा लागुऔषध ब्राउनसुगर सहित सुनसरीको लौकहीमा सोमवार पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार सुनसरीको नेपाल-भारत सिमाक्षेत्रमा भारतबाट ब्राउनसुगर लिएर नेपाल आउँदै गरेको समूहमा मोरङ केराबारी-७ की २७ वर्षीय फुलमाया लिम्बू पनि पक्राउ परेकी छन् ।

राजेश लामा र २१ वर्षीय समिर क्षेत्रीलाई १ ग्राम ४७ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो । फुलमाया र केराबारी-१० का ३१ वर्षीय तेजबहादुर तामाङ लाई १ ग्राम ८८ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।
सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले ब्राउनसुगर सहित पक्राउ गरेको उनीहरूलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको छ ।
यसैगरी झापाको गौरादह-४ का २३ वर्षीय उमेश गिरीलाई उनकै घरबाट २ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । प्रहरी चौकी महारानीझोडाको प्रहरी टोलीले उनीसँगै ब्राउनसुगर बिक्री वितरणमा संलग्न गौरादह-२ का २४ वर्षीय मनोज भारतीलाई पनि नियन्त्रणमा लिएको छ ।
साथै मोरङको बेलबारी-८ का २८ वर्षीय मिलन थापा र ३९ वर्षीय केशर कुमार मगरलाई २ ग्राम ६० मिलिग्राम ब्राउनसुगर सहित लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले विराटनगर-१५ बाट पक्राउ गरेको छ ।