धरान : प्रहरीले उदयपुरको बेलका-६ स्थित मूर्ति खोलाको किनारमा लुकाएर राखेको अवस्थामा शनिवार ८ सय ९१ केजी ४२३ ग्राम गाँजा फेला पारेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार प्लास्टिकको ससाना ९३९ पोका प्याकेट बनाएर बोरामा राखिएको गाँजा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको गस्ती टोलीले बरामद गरेको हो ।

अज्ञात गाँजा तस्करहरूले खोलामा गाँजा लुकाएको सूचनाको आधारमा प्रहरीले खोजी कार्य गर्दा बेवारिसे अवस्था उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरीले जनाएको छ ।

बरामद गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ । उक्त गाँजा ओसार पसारमा संलग्न व्यक्तिको खोजतलासमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

यसैबिच जिल्ला प्रहरी कार्यालयले त्रियुगा-१२ का रोहित झा र विवेक बिकलाई प्रतिबन्धित लागूऔषध ६० चक्की सहित पक्राउ गरेको छ । उनीहरूबाट चेकजाँचको क्रममा लागुऔषध फेला परेको हो ।