धरान : नेकपा एमालेको सङ्कल्प यात्रामा रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली माथि धनकुटाको लेगुवामा आक्रमण भएको कुरा सामाजिक सञ्जालमा भिडियो क्लिप सहित भाइरल भएको छ ।
उक्त घटना बारेमा एमालेका नेता उपमहासचिव प्रदीप ज्ञवालीले भने आक्रमणको प्रयास मात्र भएको बताएका छन् । उनले भनेका छन् ‘आक्रमण प्रयास भएको हो, छुन पाएन, धनकुटाको लेगुवामा आएका मानिस शङ्कास्पद लागेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।’

_1743784132.gif)
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी राजेशनाथ बास्तोलाले पनि आक्रमण प्रयास भएको बताएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो क्लिपमा भने ओलीमाथि आक्रमण भएको देखिन्छ ।
सङ्कल्प यात्राको टोली अध्यक्ष ओली सहित धनकुटाको लेगुवाघाट आइपुग्दा एमालेकै कार्यकर्ता महेश राईले थप्पड हानेको कोशी प्रदेश नाम खारेजी आन्दोलनका कार्यकर्ताहरूले दाबी गरेका छन् ।
प्रहरी अनुसार धनकुटाको लेगुवामा मादक पदार्थ सेवन गरेका एक युवा राईले अवरोध गरेपछि प्रहरीले शङ्कास्पद व्यक्तिलाई घेराउ गरी नियन्त्रणमा लिएको छ । यसअघि प्रहरीले यात्रामा अवरोध गर्न बन्द आव्हान गर्ने संयुक्त सङ्घर्ष समितिका दर्जन बढी नेता कार्यकर्तालाई विभिन्न जिल्लामा पक्राउ गरेको थियो ।
यसअघि सङ्कल्प यात्रा टोलीलाई अरुण नदी किनारमा पार्टीका नेता, कार्यकर्ता, सर्वसाधारणले स्वागत गरेका थिए । स्वागत गर्न जातीय पहिचानको झाँकी सहित सर्वसाधारण भेला भएका थिए ।