धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्वास्थ्य बिमाको बारेमा गलत समाचार आएको भन्दै आपत्ति जनाएको छ । 

कपुरी न्युजले वीपी प्रतिष्ठानले स्वास्थ्य बिमाको बारेमा भ्रम फैलायो : बिमा बोर्ड भन्ने शीर्षकमा छापिएको समाचार प्रति प्रतिष्ठानको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  उक्त समाचारमा लेखिए अनुरूप बिमा बोर्डले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा गरेकाहरूलाई उपचार बन्द गर्नुको कारण भनी स्थानीय सरकार, प्रशासन र सुरक्षा निकायलाई देखाएको समस्याहरू झुटो र भ्रम फैल्याउने भएको भनी बताएको साथै बिमा रकम निकासामा कुनै किसिमको ढिलाइ नभएको, बिमा दाबी रकममा कुनै कटौती नगरिएको, बिमा बोर्डले बिरामी दर्ता चौबिसै घण्टा खुला हुने व्यवस्था गरेको तर वीपीले भ्रामक कुरा किन गरेको ? भनी प्रश्न गरेको छ ।  तर बिमा बोर्डले गरेका यी कुराहरू आफैमा गलत रहेको र प्रतिष्ठानले कुनै भ्रम नफैलाएको भन्दै प्रतिष्ठानले खण्डन गरेको छ ।

प्रतिष्ठानले विमितलाई सेवा दिए बापतको रकम शोधभर्नामा ढिलाइ भएको भनेर स्वयं बिमा बोर्डले नै स्वीकारेको विभिन्न राष्ट्रिय तथा स्थानीय मिडियाहरूमा प्रकाशित भएको प्रतिष्ठानको खण्डनमा उल्लेख छ । बिमा बोर्डबाट प्रतिष्ठानका लागि जारी मिति २०७८।१२।१४ गतेको पत्रले नै २०७८।८।१५ गते पछि २०७८।१२।५ गतेसम्म कुनै भुक्तानी नभएको प्रस्ट देखाउँछ ।

त्यसमा पनि उक्त पत्रमा २०७८।१२।६ गते रु. ३५७५१७५४।०० भुक्तानी दिएको ब्यहोरा उल्लेख भए पनि उक्त रकम प्रतिष्ठानको खातामा मिति २०७८।१२।१४ गते सांझमात्र जम्मा भएको थियो । यसरी चार चार महिनासम्म कुनै पनि प्रकारको भुक्तानी नगर्ने अनि भुक्तानीमा कुनै ढिलाइ नभएको भन्ने अभिव्यक्ति दिने बिमा बोर्डको नियत प्रति प्रश्न खडा भएको प्रतिष्ठानले जनाएको छ ।

साथै बिमा दाबी रकममा कुनै कटौती नभएको भनिए पनि बोर्डकै सफ्टवेयर आईएमआइएसमा हेर्ने हो भने रु. दुई सयको ओ.पी.डी. कार्डलाई पचास मात्र मुल्यांकन गरिएको स्पष्ट देख्न सकिने प्रतिष्ठानले दाबी गरेको छ । त्यस बाहेक अन्य थुप्रै परीक्षणहरूको पनि कुनै आधार नखुलाई यसरी नै कम मूल्याङ्कन गरेको देख्न सकिन्छ । 

प्रतिष्ठानले मिति २०७४।०४।०१ गतेदेखि नै नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतका विमितहरुलाई गुणस्तरीय सेवा निर्वाधरुपमा प्रदान गरिरहेको ब्यहोरा सर्वविदितै छ । स्वास्थ्य बिमा बोर्ड जस्तो जिम्मेवार सरकारी निकायले यसरी धरान उपमहानगर पालिकाका प्रमुख लगायत अन्य प्रतिनिधि सँगको छलफलमा प्रतिष्ठानले स्वास्थ्य बिमाको बारेमा भ्रम फैलायो भन्ने जस्तो गैर जिम्मेवार अभिव्यक्ति दिँदा प्रतिष्ठानको गरिमा माथि नै आँच आएको जनाएको छ ।

स्वास्थ्य बिमा बोर्डको यस प्रकारको अभिव्यक्तिको प्रतिष्ठान परिवार घोर निन्दा गर्दै बिमा बोर्डको यो भनाइले आम जनमानसमा सृजना भएको भ्रम प्रति प्रतिष्ठानले व्यक्त गरेको प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणी पोखरेलद्वारा जारी खण्डन पत्रमा उल्लेख छ ।

Bima

BP-Matter-1
BP-Matter-2