धरान : कोरोना महामारीको कारण दुई वर्ष नभएको किरात राईहरूको साकेला सिली आज धरान-१७ स्थित साकेला सांस्कृतिक पार्कमा साकेला नाच्नेहरूको ठुलो भिड भाड भयो ।
सुनसरीभरिको वडा स्तरीय प्रतियोगितात्मक साकेला सिलीको समापन समारोहमा हजारौँको सङ्ख्यामा किराँती मौलिक सांस्कृतिक पहिरनमा युवा युवतीहरूको बाक्लो उपस्थितिले साकेलाको रौनक नै अर्कै बनेको थियो ।
विभिन्न हाउभाउमा साकेला नाच्ने युवायुवतीहरूको भिडले साँच्चै धरान १७ को साकेला सांस्कृतिक पार्क आज साकेलामय बन्यो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई समेत साकेला नाच्नेहरूको भीडमा नाची दिँदा माहोलनै अझ रमाइलो भएको थियो । विभिन्न समूहहरूको अवलोकनको क्रममा किराँती संस्कृति अनुसार मुख्यमन्त्रीलाई सम्मान समेत गरिएको थियो ।