धरान: मानव वेचबिखन तथा ओसारपसार ऐनमा भएका कानुनी प्राबधानहरु बारे समुदायमा जानकारी गराउने उद्देश्यले आइतबार धरानको वडा नं ५ स्थित देउरालीमा सचेतना कार्यक्रम तथा प्रशिक्षण सम्पन्न भएको छ ।
स्थानीय हिमाली माविको प्राङगणमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय धरानको आयोजना तथा ५ नं वडा कार्यालय र युवा नेतृत्व समाज देउरालीको समन्वयमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख तथा एसपी यज्ञविनोद पोखरेलले मानव वेचबिखन तथा ओसारपसारबारे ऐनमा भएका कानुनी प्रावधानबारे प्रशिक्षण दिएका थिए । यस्तै, प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले महिला हिंसा तथा घरेलु हिंसा सम्बन्धमा भएका कानुनी प्रावधान साथै त्यस्ता हिंसामा परेका मानिसहरुलाई उजुर गर्नेलगायत प्रकृयाबारे प्रशिक्षण दिएका थिए ।

वडा अध्यक्ष सन्तोष लिम्वुको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी प्रमुख तथा एसपी यज्ञ विनोद पोखरेल थिए भने बिशेष अतिथिमा ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपाने, जिल्ला ट्राफिक प्रहरी सुनसरीका प्रमुख, नेपाली कांग्रेसका नगर सभापति तिलक राई, नेकपा सचिव सुदर्शन श्रेष्ठ, महिला संजाल धरानकी अध्यक्ष सविता राईलगायतको उपस्थिति रहेको थियो ।