धरान : नेपाल प्रहरीद्वारा सञ्चालित धरान पानवारी स्थित लागुऔषध दुर्व्यसनी उपचार केन्द्र आसरा सुधार केन्द्रमा उपचार गराई रहेका युवाहरूले बिहीबार उनीहरूमा भएको प्रतिभा प्रदर्शन गरेका छन् ।

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८२ को अवसरमा केन्द्रमा आयोजित कार्यक्रममा उनीहरूले विभिन्न खेल, नृत्य कला प्रदर्शन गरे । कविता वाचन गरे ।

प्रमुख संरक्षक प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनीहरूमा भएको प्रतिभाको उच्च सम्मान गर्दै कार्कीले पुरस्कार प्रदान गरे ।

नायब महानिरीक्षक कार्कीले केन्द्रले समाजमा उपचाररत युवाहरूले पुनः स्थापना पश्चात् नयाँ आशा र विश्वासका साथ परिवार र समाजको खुसीमा रमाउन अनुरोध गर्दै केन्द्रले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरे ।

कार्यक्रम ‘स्वास्थ्य, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता: लागूऔषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता’ सन्देशका साथ आयोजना गरिएको हो । केन्द्रको सभाहलमा भएको समारोह सञ्चालक समिति उपाध्यक्ष शिला बज्राचार्यको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, कोसी प्रदेश प्रहरी गण विराटनगरका उपरीक्षक रुकेश तण्डुकार, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन इटहरीका नायव उपरीक्षक सन्तोष श्रेष्ठ, सशस्त्र प्रहरी बल धरानका नायव उपरीक्षक संजिव पौडेल लगायतको उपस्थिति थियो ।

ashara-police