इटहरी : इटहरीको पाउरोटी क्याफे सामान्य अवस्थामा पनि भिडभाड नै रहन्छ । शनिवार पाउरोटीमा युवा पुस्ताको विशेष उपस्थिति रहन्छ ।
आज (असार १४) को शनिवार भने क्याफेको लागि विशेष बन्यो । इटहरी लगायत आसपासका सहरबाट आर्टीस्टहरुको उल्लेख्य जमघट भयो । जमघट मात्र भएन आर्टीस्टका आर्टहरू प्रदर्शित भए ।

क्याफे आर्टीस्टले कफी बनाएर चखाए । पेन्टर्सको पेन्ट्स प्रदर्शनीमा राखियो । गीत गाउने र गितार बजाउनेको आफ्नै संसार । प्रदर्शनी हेर्ने र गीत सुन्नेको उपस्थितिले क्याफे भरिभराउ भयो ।
भिडभाडले क्याफेका बारिष्टा र वेटर्सलाई भ्याइनभ्याइ भयो । शनिवार क्याफे छुट्टै गुल्जार देखिन्थ्यो । कफी आफैमा आर्टको क्षेत्र भएकाले पनि क्याफे आर्टीस्टको रोजाइमा पर्नेगर्छ ।
इङ्क इनर्जी (ट्याटु हाउस) का रिगल कार्कीको प्रमुख अग्रसरतामा आर्टीस्ट मिट गरिएको हो । इटहरीका र आसपासका आर्टीस्टहरु आपसमा सङ्गठित हुन र आर्टको महत्त्व बुझाउन भेला आयोजना गरिएको उनले बताए ।
भेलामा ९ जना कलाकारले गीत गाए भने ट्याटु आर्टीस्टले अनुभव साटासाट गरे । विभिन्न चित्रकारले बनाएका चित्रहरू प्रदर्शनमा राखिएको थियो । जसलाई अवलोकन गर्न बाटोमा यात्रा गरिरहेको यात्रुहरू समेत सहभागी भए ।
क्याफेका नियमित ग्राहले स्टलमा राखिएका सामग्री अवलोकन र खरिद गरे । स्थानीय आर्टीस्टलाई प्रमोट गर्ने उद्देश्यले पाउरोटी क्याफे र इन्क इनर्जीले संयुक्त रूपमा भेलाको आयोजना गरेका हुन् । सपोर्ट पोसाक र लेसेसले भेलालाई सफल बनाउन भरपुर सहयोग गरेको छ ।