धरान  :  नेपाल सरकार(मन्त्रीपरिषद)ले धरान उपमहानगरपालिका अन्तर्गतको खानेपानी व्यवस्थापन बोर्डलाई खानेपानी संस्थानको धरान शाखा कार्यालयको सम्पत्ति, दायित्व र जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरेको दुई महिना बितिसक्दा पनि कार्यान्वयन भएको छैन । मन्त्रीपरिषद बैठकले गत असार ३२ गते संस्थानको शाखा कर्यालयको सम्पत्ति, दायित्व र जिम्मेवारी बोर्डलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार साउन ३१ गते राजपत्रमा सुचनासमेत प्रकाशित गरिएको थियो । राजपत्रमा सुचना प्रकाशित भएपछि त्यसले कानुन सरह मान्यता पाउछ । तर, राजपत्रमा सुचना प्रकाशित भएकै महिना दिन बितिसक्दा पनि औपचारिकरुपमा संस्थानको सम्पत्ति बोर्डमा हस्तान्तरण भएको छैन । यसले खानेपानी आयोजना सञ्चालन र पानी वितरणमा अवरोध पुगेको उपमहानगरपालिकाको भनाई छ । संस्थान भने सरोकारवाला निकायसँग समन्वय नगरी सम्पत्ति तथा जिम्मेवारी हस्तान्तरणको निर्णय भएको भन्दै असन्तुष्ट छ । खानेपानी आयोजनाले संस्थानको पाइपलाइन तथा वितरण प्रणालीमा इन्टरकनेक्स गर्न खोजिरहेको छ । तर, संस्थानले स्वीकृति दिएको छैन । आयोजनाको डिजाइनअनुसार काम सम्पन्न गरेर नगरबासीलाई पहिला पानी वितरण गर्नुपर्ने र मात्र सफल भए, नभएको स्पष्ट हुने भन्दै संस्थानको शाखा कार्यालयका कर्मचारीहरु बोर्डमा समाहित हुन चाहिरहेका छैनन् । धरान नगर कार्यपालिकाको भदौ २९ गतेको बैठकले ७ दिन भित्र सम्पत्ति, दायित्व र जिम्मेवारी हस्तान्तरण नगरे इन्टरकनेक्सन कार्यको शुरुवात गर्ने निर्णय गरेको थियो । उक्त निर्णय पनि कार्यान्वन भएको छैन । धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सरकारको निर्णय र राजपत्र अनुसार अघि बढ्ने बताउँछिन् । संस्थानको सम्पत्ति तथा दायित्व औपचारिकरुपमा मन्त्रालयबाट हस्तान्तरण हुन मात्र बाँकी रहेको भन्दै उनले चाडै इन्टरकनेश्सनको काम शुरु गर्ने बताइन् । उनले भनिन्,‘मन्त्रालयबाट औपचारिकरुपमा हस्तान्तरण हुन मात्र बाँकी छ, अब हामी पनि इन्टरकनेक्सनको काम शुरु गछौं ।’ उता, संस्थानका महाप्रबन्धक भुपेन्द्र प्रसाद सरकारले गरेको निर्णय प्रक्रियागतरुपमा आउनुपर्ने बताउँछन् । तालुक मन्त्रालय खानेपानी मन्त्रालयबाट निर्देशन आएपछि मात्र हस्तान्तरणको प्रक्रिया अघि बढ्ने उनले बताए । महाप्रबन्धन प्रसादले भने,‘सरकारको निर्णय र मन्त्रालयको आदेश नमान्ने कुरा छैन । तर, मन्त्रालयबाट आउनु पनि पर्यो नि ।’ साविक धरान (१९ वडा) लाई पर्याप्त पानी वितरण गर्ने भन्दै धरानमा २२ मिलियन अमेरिकी डलरको एकीकृत सहरी विकास आयोजना ल्याइएको थियो । उक्त आयोजनाले जंगलबाट भुमिगत पानी बोरिङ गरेर नगरबासीलाई वितरण गर्ने लक्ष्य राखेको थियो । जसअनुसार ४ वटा सबसिस्टमको काम लगभग सकिएको आयोजनाको भनाई छ । तर, धरान १४ स्थित पञ्चकन्या सबसिस्टमको रिजर्ब वेयर भने विवादले निर्माण हुन सकेको छैन । पिण्डेश्वर, रेल्वे, फुस्रे सबसिस्टमको रिजर्व वेयर तयार भइसकेको छ भने सुम्निमा सबसिस्टमबाट भने आयोजनाले संस्थानकै रिजर्ब वेयर प्रयोग गर्ने जनाइएको छ

तस्बिर १ : खानेपानी संस्थानको धरान १३ स्थित शाखा कार्यालय ।

2 20

तस्बिर २ :  धरान उपमहानगरपालिकाले खानेपानी संस्थानको धरान शाखालाई पठाएको पत्र ।

1 112

तस्बिर ३ : खानेपानी आयोजनाले कुम्भीआहालमा टेष्ट ड्रिलिङ गर्दा निस्केको भुमिगत पानी ।