सुनसरी: सुनसरी सदरमुकाम इनरुवामा करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम सुरु भएको छ । यहाँ बसोबास गर्ने उराँव समुदायहरुले आफ्नो महान पर्व करम पुजाको अवसरमा पूर्व सन्ध्यामा सांस्कृतिक कार्यक्रम आयोजना गरेका हुन् ।
नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान सुनसरी इनरुवाको आयोजनामा शुक्रबार करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम सुरु भएको हो । कार्यक्रम सुरु हुनु अगाडी विहान हजारौंको संख्यामा उराँवहरुले आफ्नो जातीय पहिरण भेषभुषा सहित इनरुवामा वृहत उराँव पोशाक(पहरिण) प्रदर्शन गरेका थिए । प्रमुख अथिति प्रतिनिधि सभा सदस्य तथा पूर्व राज्य मन्त्री सिताराम मेहताले उराँवहरु नेपालका धर्ती पुत्र भएकाले उनीहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व आवश्यक रहेको बताए । उनले आफ्नो तर्फबाट हुने सबै खालका सहयोग गर्ने र उराँवहरुको पहिचान तथा सम्मानका लागि काम गर्ने क्रममा संसद विकास कोषको ५० लाख रुपियाँ सहयोग गरेर प्रतिष्ठानको उरावँ सग्राहलय निर्माण गरेको बताए ।

कार्यक्रममा इनरुवा नगरपालिका उपप्रमुख जमुना गौतम पोखरेलले उराँवहरुको हरेक कार्यक्रम र आरक्षणका लागि पहल गर्ने तथा सार्थकताका लागि शुक्रबार नगरक्षेत्रमा सार्वजनिक विदा समेत दिएको बताइन् । उनले उराँवहरुको हक, अधिकार र पहिचानका लागि नगरपालिकाको तर्फबाट हुने सबै खालका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा सुनसरी र मोरगंका उराँवहरुले पुरुषहरु धोती, गम्छाको पगरी र आफ्नै पहिरणमा र महिलाहरु रातो र सेतो सारी, हातमा चादीको चुरा, घाटीमा हसुली, तिलहरी, पाखुरामा गोफ(गहना) सहित सजिएर सहभागि भएका थिए । इनरुवाको विहीबारे हातमा जग्गा भएका उराँव पुरुषहरु धोती, गम्छाको पगरी र आफ्नै पहिरणमा र महिलाहरुले रातो र सेतो सारी सहित सजिएर इनरुवा २, १ हुदै बजार, लोकतान्त्रिक चोक, भगवती रोड हुदै प्रतिष्ठानको भवन तथा संग्राहलयको मैदानमा करम पूर्व सन्ध्या कार्यक्रममा सहभागि भएका थिए ।
उराँवहरुको महान पर्वको बारेमा सन्देश दिने, भाषाको संरक्षण गर्ने र मौलिकता प्रदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम सुरु गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिए । एक महिनासम्म मनाइने करम पुजाको विधिवत सुरु गरेको र त्यसको झल्को दिनका लागि २६ वटा झाकी समूह सहित उराँव कलाकार, साहित्यकार, कलाकर्मी, शिक्षक, वुद्धिजिवि र अगुवाहरुको उपस्थितीमा करम पूर्व सन्ध्या कार्यक्रम सम्पन्न गरेको उराँवले बताए ।
विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका मनाइने करम पुजाले उराँवहरुलाई जोडेने भएकाले पूर्व सन्ध्या कार्यक्रम गरेको प्रतिष्ठानका सल्लाहकार नुनुलाल उराँवले बताए । उराँवहरुले करम राखेको दिनदेखि नै दैनिक अखडा(मञ्च) मा आफ्नो परिहण सहित नाचगान गर्ने, प्रवचन भन्ने लगायतका कार्यक्रम गर्दै करम पुजा गरीरहेको उराँव समुदायका शिक्षक सम्पतलाल उराँवले जानकारी दिए । करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल, गीत नृत्य, पहिरण, बाजागाजा, पोसाक, मौलिक हातहतियार, कृषि औजार, जिविकोपार्जन गर्ने सामग्री(माछा मार्ने जाल, भाडो, खुर्पी, कोदालो, हल्लो) सहितको प्रदर्शन गरिएको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सचिव रामलाल उराँवले जानकारी दिए ।