झापा : ३५ वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापा, गौरादह नगरपालिका–६, दामुनाका ४५ वर्षीय पुण्य चुँडाललाई भदौ २५ गते पक्राउ गरेको छ ।
गत भदौ २१ गते आफूसँगै बस्दै आएकी नाम नखुलेकी सिर्जना भनेर बोलाउने आफ्नै प्रेमिकालाई कुटपिटपछि छोडेर हिँडेको र उनको उपचारकाक्रममा भदौ २२ गते कोसी अञ्चल अस्पतालमा मृत्यु भएपछि प्रहरीले चुँडाललाई खोजी गरिरहेको थियो । कुटपिटपछि रतुवामाई नगरपालिका–६ का हरिबहादुर खड्काको गाईगोठमा महिलालाई छोडेर चुँडाल भागेका थिए ।

शरीरका विभिन्न भागमा चोट लागेकी महिलाको रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरीले कोसी अञ्चल अस्पताल ल्याएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु विगत एक महिनायता रतुवामाई नगरपालिका–६ मा बस्दै आएको मोरङ प्रहरीका प्रवक्ता श्रेष्ठले बताए ।
चुँडाललाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत् थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको परीक्षण कोसी अञ्चल अस्पतालमै गरिएपनि जिम्मा लिने कोही नभएका कारण शवगृहमा राखिएको प्रहरीको भनाइ छ ।