धरान : आन्तरिक पर्यटकको मुख्य रोजाइमा पर्न थालेको छ, धरान १३ फुस्रेस्थित सर्दुखोला । धरान उपमहानगरपालिका वडा नम्बर १३ र २० को सिमानास्थित सर्दुखोला क्षेत्रलाई पार्कको रुपमा विकास गर्न थालिएसँगै आन्तरिक पर्यटकको मुख्य रोजाइमा पर्न थालेको हो ।
सर्दुजलाधार क्षेत्रमा पर्ने यो क्षेत्र खानेपानीको मुख्य स्रोत पनि हो । तर, यहाँ भएका प्राकृतिक बस्तुहरुलाई कुनै असर नगरी वीपी पार्क नाम दिएर पार्कको रुपमा विकास गरिएपछि आन्तरिक पर्यटकीयको मुख्य रोजाइमा पर्न शुरु भएको छ । नेपाली कांग्रेसका स्वर्गीय नेता वीपी कोइरालाको नाममा पार्क निर्माणाधिन अवस्थामा छ । २००३ सालमा वीपीलाई विराटनगरबाट पक्राउ गरी अड्डासार गरेर लैजादा फुस्रेमा एक रात राखेको इतिहास छ । त्यसैले यस ठाउँमा वीपी पार्क बनाइएको हो ।
सर्दुखोलामा माथी बनाइएको पक्की पुललाई फ्लावर ब्रिजको अवधारणामा सिंगारिएको छ । कुल ६० मिटर लम्बाई ४ मिटर चौडाइ रहेको पुलमा तीन वटा फलामको ट्रष्ट निर्माण गरिएको छ । १२–१२ मिटरको ट्रष्टमा आकाशतिर तारको जाली लगाइएको छ । पुलको दाँया र बाँयातर्फ समेत जाली लगाइएको छ । तीन वटै ट्रष्ट माथी झ्याम्मै हुने गरी बगमबेली अर्थात लहरे प्रजाति फुल रोपिएको छ ।
यसैगरी, फ्लावर ब्रिजको मुनी ढुङगामा जोडी सर्प, हास, भ्यागुताको चित्र कलाकारहरुले कोरिसकेका छन् । त्यति मात्र हैन, १३ नम्बर वडा कार्यालयले ५ लाख बजेटमा केटाकेटीहरुको लागि बाल उद्यान पनि निर्माण गरेको छ । नजिकै ओशो ध्यान केन्द्र पनि छ । सर्दु खोलाको पुल तरेपछि अलिक मास्तीर कोशी नदीमा बनेको ब्यारेज तथा पुल निर्माणको क्रममा सर्दुखोलाको ढुङगा लान प्रयोग गरिएको ऐतिहासिक घिर्लिङको अवशेष छ । त्यो फुस्रेको महत्वपुर्ण सम्पदा हो । घिर्लिङको अवशेषलाई पनि रेलिङ हालेर सिगारिएको छ । घिर्लिङको अवसेसमा प्रत्येक सिढीमा मानिसहरुको लागि फलाम बस्ने बनाइएको छ ।
मानिसहरु परिवासहित घुम्न आउदा बसेर खाने ठाउँको पनि व्यवस्था गरिएको छ । त्यहाँको सिगारिएको फ्लावर ब्रिज, घिर्लिङ अबशेष देखेर घुम्न आउने जो कोही पनि आहा नभन्ने कमै हुन्छन । दैनिक करिब अढाइ सयदेखी ५ सयसम्म घुम्नको लागि मानिसहरु आउने गरेको वीपी पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्र खड्काले बताए । ‘हामीले पार्क निर्माण गरेको करिब २ महिना भयो, अहिले दैनिक अढाइ सयदेखी ५ सयसम्म घुम्न हेर्न आउछन्,’उनले भने,‘धरानका अधिकांश घुम्न भेडेटार, नमस्ते झरना जान्छन्, त्यो मजा अब यही पाइन्छ ।’
विशेष गरेर पूर्वमा फ्लावर ब्रिज नयाँ भएकोले पनि मानिसहरु हेर्न लालायित छन् । सेल्फी खिच्न भ्याइ नभ्याइ हुन्छ । सर्दुखोला घुम्न परिवारसहित आएका धरान–१९ का पदमबहादुर राईले धरानमा घुम्न लायको ठाउँहरु मध्ये यहाँ पनि राम्रो लागेको बताए । ‘मैले यूट्वमा यो ठाउँको बारेमा हेरेको थिँए’ उनले भने ‘हस्त आफै घुम्न आए आज परिवारलाई पनि घुमाउन ल्याएको हो ।’ उनले घुम्न आउनको लागि शौचालयको अभाव रहेको पनि बताए । जंगल नजिकै भएकोले सुरक्षाको हिसाबले पनि अलिक संबेदनशिल लागेको उनले बताए ।
पार्क हेर्नको लागि धरान आसपास र धरानबाहिरको समेत आउने क्रम बढ्दो छ । धरान १५ की समाजसेबी तारा शाक्यले पनि फेसबुकबाट देखेर आएको बताइन् । उनले शान्त अनि सितल ठाउँ भएकोले परिवारसहित आएको बताइन् । ‘शान्त अनि सितल छ, जे होस यति राम्रो ठाउँ पनि धरानमा रैछ बल्ला थाहा भयो’ उनले भनिन् ‘यो चै राम्रो कुरा हो, यसरी नै विकास गर्नुपर्छ ।’
करिब २ महिनाको अघिसम्म त्यहाँ ज्यादै न्युन मानिसहरुको मात्र जमघट हुन्थ्यो, तर अहिले मासिहरुको जमघट बढेसंगै व्यापार पनि बढेको छ । साना ठेला, साना–साना छाप्रो बनाएर मःम, चाउनमिन, चटपटे बेच्नेलाई भ्याइनभ्याइ छ । दैनिक १ हजार देखी ५ हजार बढीको कारोबार गर्ने गरेको व्यावसायीहरु बताउँछन् । त्यति मात्र हैन, टेम्पोलगायतका सवारी साधनलाई मान्छे, ल्याउन र लान भ्याइनभ्याइ हुन्छ । टेम्पोको स्टेण्ड नै स्थापना गरिएको छ ।
संघीय सांसद जयकुमार राईको सांसद क्षेत्र विकास कोषबाट छुट्टिएको २० लाख रुपैयाँले वीपी पार्क बनाइएको हो । यस अघि पूर्व सांसद कृष्णकुमार राईको सांसद कोषबाट १० लाख रुपैयाँले घिर्लिङको अवशेष जाने सिढी निर्माण गरिएको थियो । आन्तरिक पर्यटकको मुख्य केन्द्रको रुपमा विकास गर्ने योजना अनुसार निर्माण गरिएको समितिका अध्यक्ष खड्काले बताए । यसैगरी, चालूआर्थिक वर्षको लागि प्रदेश सरकारबाट ३० लाख रुपैयाँ बजेट आएको वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए । ‘अब फेरी प्रदेश सरकारबाट ३० लाख आउने भएको छ’ उनले भने ‘त्यो बजेटले आवश्यकता हेरेर पूर्वाधार विकास गर्ने हो ।’
उनले वीपी पार्कलाई आन्तरिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लैजाने वडाको योजना रहेको बताए । तर, वीपी पार्क निर्माण कार्य अन्तिम चरणमा पुग्दै गर्दा विभिन्न नाममा टिकाटिप्पणी भएको बताए । उनले भने ‘समाजिक सञ्जाल फेसबुक, सञ्चारमाध्यममा कुनैले जैविक विविधता पार्क भनेको छ, कसैले वीपी पार्क भनेको छ विभिन्न तर्क आएको छ,’उनले भने,‘वीपी पार्क हुँदा केही फरक पदैन किनकी वीपी भनेको देशको राजनेता हो । भोली सुर्यबहादुर थापाको नाममा पार्क बनाउनु पर्छ भनेपनि हामी तयार छौं ।’ उनले नाममा त्यति धेरै टिकाटिप्पणी गर्नु आवश्यक नहुने बताए । फुस्रेको पूरानो साख जोगाउनको लागि पनि सबै एकजुट भएर फुस्रेको विकासमा लाग्नुपर्ने बताए ।
शौचालय र विश्रालयको अभाव
वीपी पार्क निर्माण शुरु भएको धेरै भएको छैन, करिब दुई महिना पुग्यो । तर, निर्माणाधिन अवस्थामा नै हेर्न आउने मानिसहरुको संख्या बृद्धि भएपछि वीपी पार्क निर्माण समिति र वडा कार्यालय खुशी छ । तर, घुम्न आउनेको लागि व्यवस्थित शौचालय र विश्रामलयको अभाव छ । घुम्न आउनेको पनि केही गुनासाहरु छन् । धरान–१९ चौकीबारीका पदम राईले भने,‘हुन त भर्खर बनाउदै रैछ, तर यतिमा धेरै मानिस आउन थालेपछि एउटा शौचालय बनाउनुपर्ने हो ।’ दिसा पिसाब आयो भने कहाँ जाने ? भन्ने समस्या देखिएको उनले बताए ।
वीपी पार्क निर्माण समितिका चक्र खड्काले निर्माण गर्ने विषयमा छलफल भइरहेको बताए । ‘मुख्य शौचालयको समस्या छ त्यो हामी चाडै निर्माण गछौं,’उनले भने । वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले पनि शौचालयको लागि प्रदेश सरकारबाट आएको ३० लाख बजेटबाट शौचालय निर्माण गरिने बताए । उनले ओशो ध्यान केन्द्रसंगै अन्य दुईवटा कोठा थपेर पानीको ट्याङकीसहितको शौचालय बनाउने योजना रहेको बताए । ‘शौचालयको लागि आशोको शौचालयसँगै दुई वटा कोठा थपेर व्यावस्थित शौचालय बनाउने सोचेका छौ,’ उनले भने,‘ठुलो ट्वाइलेट सेफ्टी ट्याङकी निर्माण गर्ने, अनि हामी खाने पानीको ट्याङकी पनि निर्माण गछौं ।’
ऐतिहासिकता झल्काइने
वडा अध्यक्ष काफ्लेले फुस्रे चोकदेखी पुलवारीसम्म धरानका विभिन्न मौलिक एतिहाशिक बस्तुहरुको चित्र राखिने बताए । त्यसको लागि उपमहानगरले चालू आर्थिक वर्षको बजेटमा १५ लाख रुपैयाँ विनियोजना गरेको उनले बताए । ‘धरानको आरा काट्दै गरेको, पहिला–पहिलाको जस्तो ढाकार बोक्दै गरेको, नुन बोक्दै गरेका चित्र बन्छ, जे होस धरानको मोडेल बन्छ’ उनले भने ‘फुस्रे चोकदेखी भित्तै–भित्ता पर पुलवारीसम्म बन्छ ।’
त्यसैगरी, फुस्रे चोकमा फुस्रे बजारको ऐतिहाशिक मोडल तयार गरीने बताए । उनले सर्दुजला क्षेत्रको सर्दुखोला धरानको मुख्य खानेपानीको स्रोत भएकोले त्यसलाई असर नपर्ने गरी योजना अगाडी बढाउने बताए । उनले पार्किङको लागि फुस्रे चोकमा नै राख्ने व्यावस्था मिलाउने योजना रहेपनि तत्कालको लागि १० रुपैयाँ लिएर परै पुलवारी राख्ने व्यावस्था गरेको बताए । आगामी बजेटबाट पार्किङको व्यावस्था फुस्रे चोकमा गरेर मानिसहरुको लागि हिड्दै घुम्न जाने बाताबरण तयार गरीने बताए । ‘सर्दुखोला धरानको खानेपानीको मुख्य स्रोत हो, त्यो त फोहोर गर्नु भएन, यसप्रति हामी सचेत छौं’उनले भने,‘त्यसको लागि पार्किङ फुस्रे चोकमा नै व्यवस्थित गछौं ।’ उनले फुसे्र चोकदेखी नै घुम्न लायकको हेर्न लायकको बनाउने हुँदा खोलासम्म सवारी लान निषेध गरिने र तामाखाम जानेको लागि मात्र सवारी जान दिने व्यावस्था मिलाउने बताए ।
अहिले अव्यावस्थित रुपमा पुलवरीपरी साना होटल, चटपटे पसल, ठेला राखिदा फोहोर महिला हुन सक्ने भएकोले तत्कालको लागि लालिगुराँस आमा समूहलाई सरसफाइको जिम्मा दिइको समेत बताए । उनले पुलवारीपारी भएका बसै होटल व्यावसायिहरु हटाइने बताए । ‘पुलवरपरी अव्यावस्थित रुपमा राखिएको होटल, ठेला, चटपटे पसल हटाइन्छ, उहाँहरुले आ–आफ्नो घरमा सञ्चालन गर्नुहुन्छ, त्यही खाने व्यावस्था भइहाल्छनी ।’ वडाध्यक्ष काफ्लेले भने ‘तत्कालिको लागि सञ्चालन गरुन भन्ने हो, किनकी पछि त्यहाँ फोहोर मैला बढ्छ, त्यसप्रति हामी बेलैमा सचेत छौं ।’ उनले थपे ‘पार्कमा खाली घुम्नको लागि मात्र जाने हो ।’