धरान : नेवार समुदायको भाषा, संस्कृतिको संरक्षणका लागि कार्यरत नेवाः पुचः तत्कालीन पाँचकन्या गाउँ समिति हाल धरान वडा ४, ५, ६ विधिवत् नेवा: देय दबुमा रूपान्तरण भएको छ । नेवाः पुचःका अध्यक्ष वीरबहादुर श्रेष्ठ र नेवा देय दबु धरानका अध्यक्ष मनोहर शाक्यको उपस्थितिमा शनिवार भएको साधारण सभाले नेवाः पुचःको सञ्चालक समिति विघटन गरी नेवाः देय दबु इकाई समिति गठन गर्ने निर्णय गरेको हो ।
साधारण सभाले धरान-६ निवासी गङ्गाबहादुर श्रेष्ठ अध्यक्ष रहको ११ सदस्यीय रूपान्तरित नेवाः देय दबु पाँचकन्या समिति गठन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा अमृत श्रेष्ठ, महिला उपाध्यक्ष विनीता श्रेष्ठ तुलाधर, सचिव कुलबहादुर श्रेष्ठ, कोषाध्यक्ष तारा श्रेष्ठ रहेका छन् । सदस्यमा सरिता श्रेष्ठ, रोजिना प्रधान अञ्जना श्रेष्ठ लगायत छन् ।
साधारण सभामा नेवाः देय दबुका सुनसरी जिल्ला अध्यक्ष वसन्तकुमार श्रेष्ठ प्रमुख अतिथि थिए । उनले संस्थागत रूप सानो कार्यक्षेत्रमा सक्रिय रहेका नेवारी संस्थाहरू हाल राष्ट्रिय सङ्गठनको महसुस गरेर रूपान्तरण हुनु उदाहरणीय भएको बताए । उनले भने ‘नयाँ संस्था होइन भएकोलाई नै सही दिशा तर्फ लैजाँदै सशक्त बनाई नेतृत्व विकास गरिनु समयको माग हो ।’
नेवाः पुचःका तत्कालीन अध्यक्ष वीर बहादुर श्रेष्ठले विगत १४ वर्ष देखि साबिक पाँचकन्या गाविसमा नेवार समुदायको मौलिक संस्कार, संस्कृति, भाषा, कला र धर्मलाई सवद्र्धन गर्दै आइरहेकोमा नेपाल भित्र विभिन्न भूगोलमा रहेका नेवारहरूलाई एउटा छातामुनि राखेर भावनात्मक रूपमा एकतामय बनाउन राष्ट्रिय सङ्गठनसँग जोडिएर मात्रै निकास प्राप्त हुनेछ भने विश्वास रहेको बताए ।
दबुका धरान नगर अध्यक्ष मनोहर शाक्यले धरानमा नेवार मौलिक पहिचानसँग जोडिएको परम्परागत संस्कृतिको संरक्षण, राज्यले गरेको विभेदकारी व्यवहारसँग सामना गर्न सबै नेवार समुदाय एउटै मालामा बाँधिएर अगाडि बढ्नु पर्छ भने सन्देश दिन दुई संस्था एकीकृत भएको बताए । कार्यक्रममा नेवाः दय दबूँ धरानका वरिष्ठ उपाध्यक्ष अमृत श्रेष्ठ, सचिव दीपेन्द्र श्रेष्ठ, सदस्य द्वय हरि श्रेष्ठ र अभिमन्यु श्रेष्ठको उपस्थित थिए ।


































































