धरान : धरानको खानेपानी थप्नका लागि कोशी प्रदेश सरकारले गरे ३ वटा डिपबोरिङ वेल खानेपानी बोर्डले तत्काल  जिम्मा नलिने नगर प्रमुख हर्क साम्पाङले बताएका छन् । उनी बोर्डका अध्यक्ष हुन ।
प्रमुख साम्पाङ सहित उपप्रमुख अइन्द्रबिक्रम बेघा, प्रदेश सांसदद्धय रमेश बस्नेत, विजयकुमार राई र खानेपानी सिँचाई तथा ऊर्जा मन्त्रालयका सचिव प्रदीप बान्तवा सहितको टोलीले सोमवार ३ वटै वेलको अनुगमन गरेको थियो ।  
अनुगमनकै क्रममा प्रमुख साम्पाङले डिपबोरिङहरु अहिले खानेपानी बोर्डको स्वामित्वमा ल्याउन नसकिने बताएका हुन । उनले विगतमा एडिबीको ऋणमा सहरी विकास आयोजना भरपर्दो नभएको बताउँदै भने ‘टेक्निकल र फाइनान्सियल अडिट, सार्वजनिक सुनुवाइ गरेपछि मात्र आयोजना बोर्डले जिम्मा लिन्छ ।’
प्रदेश सरकारको डिपबोरिङको पानी धरानको खानेपानी आपूर्तिमा कति सहज हुन्छ भन्ने कुरा जानकारी छैन, कसरी जिम्मा लिनु ? भन्ने उनको भनाई छ । 
प्रदेश सरकारले दीर्घकालीन खानेपानी परियोजना सुचारु नभईजेञ्जल राहतका लागि आर्थिक वर्ष २०८०/०८१ मा ठेक्का मार्फत १ करोड ५१ लाख ४५ हजार ९०९ रुपैयाँमा ३ वटा डिपबोरिङ गरेको थियो ।
मन्त्रालयका सचिव प्रदीप वान्तवाले भने वेल टेस्टको कामको अनुगमन मात्र गरिएको बताए । खानेपानी मन्त्रालयका मेकानिकल इन्जिनियर निश्चल पोख्रेलका अनुसार ३ वटा बोरिङ, १ सय केभिएको डिजेल जेनरेटर, कन्ट्रोल प्यानल बोड जडानसँगै प्रक्रिया सबै सकिए पनि मुख्य पाइप लाइनमा जोड्न बाकी रहेको छ । 
प्रदेश सांसद बस्नेतले भने ‘काम सम्पन्न भए पनि वेल टेस्टको कामको अनुगमन गरिएको हो, लिनु नलिनु उहाँको (नगर प्रमुखको) कुरा हो ।’