इटहरी : नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी अहिले गुमनाम अवस्थामा छन् । २०७४ को निर्वाचन पछि पत्रकार र नेताहरूलाई गालीगलौज गरेर चर्चामा आएका उनी अहिले पुनः नेताहरू विरुद्ध खनिने तयारीमा देखिएका हुन् ।
नेकपा एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेर पुनः एमालेमै फर्किएका उनी पार्टीबाट कारबाहीमा पर्ने भएका छन् । मङ्गलवार र बुधवार धनकुटामा बस्ने एमाले प्रदेश कमिटीको बैठकबाट कारबाहीमा पर्ने भएपछि उनले पत्रकार सम्मेलन नै गरेर विभिन्न आरोप लगाउने तयारी गरेका हुन् । 
पार्टीको कोशी प्रदेश कमिटीले २०८१ मङ्सिर २० गते चौधरीसँग पार्टीको हित र नीति विपरीत हिँडेको भन्दै ७ दिनभित्रमा लिखित स्पष्टीकरण माग गरेको थियो । खानेपानी तथा सरसफाइ विभागका कोशी प्रदेश सचिव रामप्रसाद चौलागाईलाई कात्तिक २७ गते अभद्र तथा अशिष्ट गालीगलौज गरेको रेकर्ड प्राप्त भएको जनाउँदै लिखित स्पष्टीकरण माग गरेको हो ।
चौधरीले स्पष्टीकरण नदिएपछि २०८१ चैत्र ९ गते बसेको सचिवालय बैठकले उनलाई जिम्मेवारीबाट मुक्त गराइएको थियो । प्रदेश अध्यक्ष घनश्याम खतिवडाले २०८२ वैशाख २ गते पुनः ७ दिन भित्रमा स्पष्टीकरण पेस गर्न अनुरोध गरे पनि चौधरीले कुनै प्रतिक्रिया दिएनन् । लामो समय बितिसक्दा समेत चौधरीले स्पष्टीकरण नदिएपछि उनलाई अनुशासनको कारबाही गर्ने एमालेको तयारी छ ।
प्रदेश कमिटीले कारबाहीको तयारी गरिरहेका बेला चौधरीले २८ गते बुधवार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् । इटहरीको इन्टुरिस्ट प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा उपमेयर सङ्गीता चौधरी सहित एमालेका नेताहरू विरुद्ध बोल्ने उनको तयारी छ ।
प्रतिनिधिसभा सदस्य तथा एमाले स्थायी कमिटी सदस्य भीम प्रसाद आचार्य, पूर्व जिल्ला अध्यक्ष तथा कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारी, पूर्व मन्त्री भगवती चौधरी, मुख्यमन्त्री हिक्मत कुमार कार्की लगायतका विषयमा उनले अभिव्यक्ति दिने भएका छन् ।
CPN UML letterletter 2 cpn uml