धरान : धरान-८ गुराँस मार्गमा डेरा गरी बसेका युवक कोठामा मृत भेटिएकोमा उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकसँग चिनजान भएकाहरूसँग प्रहरीले जानकारी दिएर सहयोग गर्न आग्रह गरेको छ ।

मृतकलाई सौजन श्रेष्ठ जोशी भनेर बोलाइने गरिए पनि वास्तविक नाम, ठेगाना र पारिवारिक विवरण पुष्टि हुन नसकेको इलाका प्रहरी कार्यालयका डिएसपी प्रकाश जवेगुले बताए ।

उनलाई मङ्गलवार बिहान साँढे ११ बजे घरको कोठामा मृत भेटिएको हो । उनले आफ्नो घर ताप्लेजुङ बताउने गरेका थिए । गाडीमा सहचालकको काम गर्दै आएका उनी डेढ महिनाअघि उक्त कोठामा बस्न आएको बुझिएको छ ।

डिएसपी प्रकाशका अनुसार अन्दाजी २५ देखि २८ वर्ष उमेरका देखिने ती युवकले आफूलाई सौजन श्रेष्ठ जोशी भनेर परिचय दिएका थिए । तर, उनको वास्तविक पहिचान खेलेको छैन ।

कोठाबाट दुर्गन्ध आएपछि घरधनीको बुहारीले झ्यालबाट हेर्दा युवक झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । उनको शव बीपी प्रतिष्ठानको शव गृहमा राखिएको छ । प्रहरीले आफन्त वा परिचितले सम्पर्क गर्न प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ ।