धरान : चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको उपाधि सुनाखरी स्कुलले चुमेको छ । 
डिपो स्कुलको बास्केटबल कोर्ट आज सोमवार बिहान भएको फाइनल खेलमा सुनाखरी स्कुलले प्याराडाइज स्कुललाई ५९–४५ अङ्कको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । 
खेलको पहिलो र दोस्रो क्वाटरमा सुनाखरीले स्कुल १८–११ र १८–७ अङ्कको अग्रता बनाएको थियो । तेस्रो क्वाटर बराबरी १४–१४ अङ्कमा रहको रह्यो । चौथो क्वाटरमा सुनाखरी १३–९ अङ्कमा पछि परेको थियो । 
सुनाखरीले उपाधि सहित नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता प्याराडाइज स्कुल तरहराले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएबल प्लेयरको उपाधि सुनाखरीका प्रीन्स खत्री घोषित भए । उनले नगद १ हजार, फाइनल खेलको म्यान अफ द म्याच सुनाखरीका आदेश पोदार, राइजिङ प्लेयर आयोजक डिपो स्कुलका जोन लिम्बु, हाइ स्कोरर प्याराडाइज स्कुलका प्रीन्स खत्री घोषित भए ।
उनीहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरियो । प्रीन्सले ४ खेलमा व्यक्तिगत ८९ अङ्क जोडेका थिए । विजेता तथा उपविजेता टिमलाइ समापनका प्रमुख अतिथि कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई पुरस्कार प्रदान गरे ।
समापनको अध्यक्षता डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अमरबहादुर लिम्बुले गरेका थिए । सुनसरी बास्केटबल सङ्घ अध्यक्ष नारायण सुबेदी, प्रतियोगिता संयोजक खड्कशम्सेर लिम्बू, विद्यालय व्यवस्थापन समिति सदस्य सूर्यप्रकाश पन्धाक लिम्बुले पुरस्कार वितरण गरे । 
प्रतियोगिता सुनसरी बास्केटबल सङ्घ र धरान बास्केटबल सङ्घको व्यवस्थापनमा भएको थियो । साउन  १५ देखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका १८ वटा विद्यालयले सहभागी थियो ।
depot-school