धरान : नेपाली महिलाहरूको पर्व तिज धरानमा सुरु भएको छ । हरितालिका तिजको पूर्वसन्ध्यामा मनिहारी तथा उपहार व्यापार सङ्घले शुक्रवार तीज उत्सव आयोजना गरी तिज सुरु गरेको हो ।

उत्सवमा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्रबिक्रम बेघाले बहुभाषिक बहुसाँस्कृतिक सहर धरानमा सांस्कृतिक सद्भाव यहाँको विशिष्टता रहेको बताए । उनले भने ‘महिलाहरू बिच एकता र सांस्कृतिक सद्भाव, सहिष्णुताले नेपाली समाजमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।’

प्रमुख अतिथि उद्योग वाणिज्य सङ्घ अध्यक्ष विजय श्रेष्ठले तिजले आर्थिक गतिविधिमा पनि महत्त्वपूर्ण योगदान दिने गरेको बताउँदै आर्थिक विकासको क्षेत्रमा महिला अगाडी बढेर व्यवसायीक गतिविधिमा अग्रसर नभए सम्म देशको अर्थतन्त्र सबल नहुने बताए ।

उत्सवमा गोरखापत्र दैनिककी पत्रकार निशा राईलाई सम्मानित गरिएको छ । उनलाई सम्मान पत्र सहित २ हजार ५०० रुपैयाँ प्रदान गरियो । उत्सवमा नृत्य प्रतियोगिता, मेहन्दी लगाउने प्रतियोगिता भएको थियो ।

सङ्घका अध्यक्ष रामस्वरुप शर्माको सभापतित्वमा भएको उत्सवको संयोजक दुर्गा काफले थिइन् । महिला सञ्जाल अध्यक्ष सावित्री ईवराम लगायत विभिन्न सङ्घ संस्था, धरान र इटहरीका व्यवसायी महिलाहरूको सहभागिता थियो ।