धरान : वरिष्ठ मूटूरोग विशेषज्ञ, काठमाण्डौ विश्वविद्यालय चिकित्साशास्त्र विभागका डिन प्राडा. राजेन्द्र कोजुले बदलिँदो जीवन पद्धतिका कारण महिलाहरूमा मुटूरोग तथा हृदयघातको जोखिम बढेको बताएका छन् ।

मुटूरोग तथा हृदयघातको सङ्ख्या पुरुषहरूमा बढी पाइने गरेकाले महिलालाई मुटु रोग, हृदयघात हुँदैन भन्ने समाजको सोचमा परिवर्तन गर्नु पर्ने बताएका हुन । उनका अनुसार महिलाहरूमा हुने प्रजनन सम्बन्धी हार्मोनका कारण मुटूरोगको कमी देखिए तापनि बदलिएको जीवन शैलीले जोखिम बढेको छ ।

महिला एकता मञ्च धरानको संयोजनमा नेपाल हृदय रोग निवारण प्रतिष्ठानद्वारा शुक्रवार आयोजित ‘मुटुको कथा’ पुस्तक विषयक अन्तरक्रियामा प्राडा. कोजुले भने ‘महिलाहरूलाई ५० वर्षको उमेर नाघेपछि पुरुष बराबर हृदयघातको जोखिम हुन्छ ।’

धुलिखेल अस्पतालका कार्डियोलोजिष्ट प्राडा. कोजुले पुरातन सोचाई अनुसार अहिले पनि महिलाहरूमा छाती सम्बन्धी समस्या देखिए घरेमा राखेर परम्परागत उपचार गर्ने चलन नेपाली समाजमा विद्यमान रहेकोले महिलाहरूले हृदयाघातको उपचार बेलैमा नपाउने गरेको बताए ।

बालिकाहरूमा छातीको समस्या बेलैमा पूर्ण उपचार नभए १८ वर्ष नाघेपछि मुटुको बाथरोग हुने जोखिम रहेको उनले बताए । मुटुको बाथरोग भएपछि गर्भवती भएपनि बच्चा जन्माउन जोखिम हुने प्राडा. कोजुले बताए ।

अन्तरक्रियाकी प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले आधुनिक रहन सहन, खानपानले नेपालीको स्वास्थ्यमा बढेको जोखिम अनुसार स्वास्थ्योपचारमा राज्यको लगानी नभएको बताउँदै यस्तो अवस्थामा मुटूरोग सम्बन्धी सचेतना बढाउन नेपाल हृदय रोग निवारण प्रतिष्ठान सक्रिय रहेको बताइन् ।

सोही अवसरमा प्रतिष्ठानको १२ सदस्यीय सुनसरी जिल्ला समिति गठन भएको घोषणा गरिएको थियो । समितिको अध्यक्ष मुकेश अग्रवाल रहेका छन् । उपाध्यक्षद्वय कला थापा र रबिन घिमिरे, सचिव आशिष मास्के, कोषाध्यक्ष सकुन त्रिखत्री रहेकी छन् ।

सदस्यहरू चन्द्रदत्त पौडेल, सृजना भट्टराई, बालिका भट्टराई, अमृतमाया लावती, चन्द्र खनाल, रामबाबु यादव र नरेश मगर रहेका छन् ।महिला एकता मञ्चकी अध्यक्ष श्रीमती दिभा श्रेष्ठले सञ्चालन गरेको अन्तरकृयामा सहभागीहरूले उपचार गराइरहेका मुटु रोग सम्बन्धी जिज्ञासा राखेका थिए । कार्यक्रम प्रतिष्ठान प्रदेश संयोजक दिनेश भक्त श्रेष्ठको सभापतित्वमा भएको थियो ।mutu-ko-katha