धरान : खेलकुद क्षेत्रमा धरानबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भई पदक हासिल गरेका उत्कृष्ट खेलाडीहरूलाई धरान खेलकुद मञ्चले ५ विधामा नगद सहित अवार्ड प्रदान गरी सम्मानित गर्ने भएको छ ।
मञ्चको यो वर्ष खेलाडी सम्मान दोस्रो हो । यसअघि पहिलो पटक मञ्चले २०८० मा ‘वर्ष खेलाडी अवार्ड’को सुरुआत गरेको थियो । अवार्ड वितरणको दोस्रो संस्करण घोषणा हुन ४ दिन अघि आज मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष किशोर राईले भने ‘धरान खेलकुदको शहर मात्र भनेर परिचित भयो तर खेलाडीहरूको पहिचान स्थापित र सम्मान भएन ।’
धरान खेलाडीहरूको पनि शहर हो, खेलकुदमा राष्ट्रिय कीर्तिमान कायम गरेका खेलाडीहरूको उचित सम्मान र पहिचानलाई स्थापित गर्ने काम नभएकोले खेलकुद मञ्चले सम्मानको नयाँ परम्परा सुरु गरेका उनले बताए ।
अध्यक्ष राईले भने ‘धराने हो भनेर देश विदेशबाट पदक ल्याए तर धरानले चिन्न नसकेका कारण विगत वर्ष देखि खेलकुद मञ्चले धरान स्पोर्टस अवार्ड प्रदान गर्दे आएको छ ।’ धरान खेलकुदको शहर मात्र भयो धरान इन्टेक जोडन सकिएन । अव खेलकुद जोन बनाएर सबै खेलकुदलाई चलायमान बनाउने उनले बताए ।
चाडै नै मञ्चको आयोजनामा धरान–१५ स्थित क्रिकेट रङ्गशालामा क्रिकेट प्रतियोगिता आयोजना गरिने जानकारी दिँदै सबै खेलहरूलाई प्राथमिकता दिएर खेलाडी स्थापित गर्न ‘स्पोर्ट ईज बिजनेस’ लाई कार्य रूपमा उतार्ने बताए । उनले भने ‘खेलकुदमा व्यावसायिकता बजार सिर्जना गर्नेछौँ ।’
प्रत्येक खेलाडीहरूले आफ्नो पारिश्रमिक तोक्ने परिस्थिति सृजना गरिने, खेलाडी प्रवर्द्धन गर्न नेपाल सरकारले तोकेको पारिश्रमिकमा मापदण्ड भन्दा बढी पारिश्रमिक तोकिने खेलाडीको पारिश्रमिक स्वास्थ्य प्रतिस्पर्धा हुने काम धरानबाट सुरुवात हुने राईले बताए ।
उत्कृष्ट खेलाडीको होडिङबोर्ड राखिने
मञ्चले धरान स्पोर्ट अवार्ड २०८२ को मनोनयनमा परेका उत्कृष्ट वर्ष खेलाडी महिला, पुरुषसँगै उत्कृष्ट प्रशिक्षक र द राइजिङ स्टार खेलाडीको नाम पनि सार्वजनिक गरेको छ । ५ विधाका १४ जना खेलाडीहरूले अवार्डको लागि मनोनयनमा परेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
छनौट समितिले उत्कृष्ट धरान वर्ष खेलाडी पुरुषको लागि साहिल राई, निगम राई र अवतार श्रेष्ठलाई मनोनयन गरेको छ । साहिल र निगम सितेरियो करातेका खेलाडी हुन् भने अवतार शारीरिक सुगठनका खेलाडी हुन ।
महिलातर्फ वर्षा राई र सलिना जोगी मनोनयनमा परेका छन् । दुवै जना सितेरियो करातेकी खेलाडी हुन । १५ वर्ष मुनिका बाल खेलाडीहरूलाई पनि प्रोत्साहित गर्न द राईजिङ स्टार विधामा सुलेखा ठाकुर, गौतम तामाङ र श्रेया सुवेदी मनोनयनमा परेका छन् । तीनै जना टेबल टेनिसका बाल खेलाडीहरू हुन ।
उत्कृष्ट प्रशिक्षक अवार्डको लागि किरण लामा, गीता थापा र श्याम तामाङ मनोनयनमा परेका छन् । किरण करातेका प्रशिक्षक हुन । गीता टेवलटेनिस र श्याम साइक्लिङका प्रशिक्षक हुन ।
मनोनयनको लागि मान्यता प्राप्त राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक जित्ने मात्र नभएर धरानको स्थानीय हुनुपर्ने र प्रतियोगिताहरूमा धरानकै नाममा प्रतिनिधित्व गरेको हुनुपर्ने मापदण्ड अनुसार छनौट गरिएको छनौट समिति संयोजक राजेशमान श्रेष्ठले बताए ।
मनोनयनमा परेकाहरुमध्येबाट १÷१ जनालाई उत्कृष्ट धरान वर्ष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र राइजिङ स्टार अवार्ड प्रदान गरिने छ । साथै खेलकुदमा योगदान पुर्याउन विशिष्ट व्यक्तिलाई पनि अवार्ड प्रदान गरिने छ ।
अवार्डको घोषणा कार्यक्रम साउन १७ गते होटेल धरान किचनमा हुने मञ्चले जनाएको छ । उत्कृष्ट धरान वर्ष खेलाडी महिला र पुरुषले जनही नगद ३० हजारसहित अवार्ड पाउनेछन् भने उत्कृष्ट वर्ष प्रशिक्षकले नगद २० हजारसहित अवार्ड हात पार्नेछन् । द राईजिङ स्टार खेलाडीले नगद १५ हजार पाउने छन् ।
सोही कार्यक्रममा पारा ओलम्पिकमा पदक जित्ने खेलाडी विवेक राईलाई नगद १० हजार सहित विशेष पुरस्कार प्रदान गरिने मञ्चका अध्यक्ष राईले जानकारी दिए । उनलाई अध्यक्ष राईका भाइ पूर्वराष्ट्रिय फुटल खेलाडी स्वर्गीय विक्रम राईको स्मृतिमा विशेष पुरस्कार प्रदान गरिने भएको हो ।
कार्यक्रममा नगद १५ हजारसहित मोष्ट भ्यालुएवल पुरस्कार र एक जना पत्रकारलाई नगद १५ हजारसहित नै उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार दिइने अध्यक्ष राईले जानकारी दिए ।
मनोनयन छनौट समितिमा मञ्चका सल्लाहकार राजेशमान श्रेष्ठ संयोजक, सल्लाहकार दीपेश शाक्य र मञ्चका सदस्य सचिव विक्रम लिम्बु सदस्य रहेको बताइएको छ ।